बिहीबारसम्म देशभर २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा कुल २ लाख ५७ हजार ५०५ जनाले नयाँ रूपमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन्।
जेनजी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ संशोधन गरी ९ असोजदेखि दर्ता प्रक्रिया सुरु गरेको थियो। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा धेरै जेनजीहरू मतदान अधिकारबाट वञ्चित हुने स्थिति देखिएपछि अध्यादेशमार्फत दर्ता प्रक्रिया खोलिएको हो।
वर्तमान कानुनअनुसार निर्वाचन मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि नयाँ मतदाता दर्ता गर्न नपाइने व्यवस्था छ। तर, असाधारण परिस्थितिलाई मध्यनजर गर्दै सरकारले यो पटक अध्यादेशमार्फत मार्ग प्रशस्त गरेको हो।
सरकारले सुरुमा दर्ता अन्तिम मिति ३० कात्तिक तोकेको थियो। तर, नागरिकको असाधारण सक्रियता र उत्साहपूर्ण सहभागिता देखिएपछि आजै बसेको निर्णयले दर्ता संकलन अवधि ५ दिन थप्दै मंसिर ५ गतेसम्म लम्ब्याएको छ।
दर्ता मिति थपिएसँगै मतदाता नामावली संकलन अभियान झन् तीव्र बनेको आयोगले जनाएको छ।