महेश बस्नेतसँगको भेटघाट विवादपछि निर्देशक विशाल भण्डारीको स्पष्टीकरण

  • प्रकाशित मिति : २०८२ मंसिर ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’का निर्देशक विशाल भण्डारी एमाले नेता महेश बस्नेतसँगको भेटघाटको तस्बिर सार्वजनिक भएपछि चर्को विवादमा तानिएका छन्। बस्नेतको निवासमा खिचिएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बन्दैजाँदा भण्डारीमाथि विभिन्न टिप्पणी, आलोचना र प्रश्न उठ्न थालेका छन्।

विवाद बढेपछि निर्देशक भण्डारीले शुक्रबार बिहान फेसबुकमार्फत स्पष्टीकरण दिँदै उक्त भेटघाटको उद्देश्य राजनीतिक नभएको स्पष्ट पारेका छन्। उनका अनुसार उनी पछिल्लो समय परेका व्यक्तिगत समस्याको समाधानका लागि विभिन्न सरकारी कार्यालय, नेताहरू तथा सम्बन्धित व्यक्तिहरूसँग सहयोग माग्दै आएका छन्।



भण्डारीले लेखे, “व्यक्तिगत समस्याका कारण म तत्कालीन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत धेरै कार्यालय र व्यक्तिहरूलाई भेटिरहेको थिएँ। जेनजी आन्दोलनपछि पनि त्यही समस्या लिएर अहिलेको प्रधानमन्त्री कार्यालय र गृहका साथीहरूसँग सम्पर्कमा छु। त्यही क्रममा महेश बस्नेत ज्युको घरमा भेट हुँदा खिचिएको तस्बिर अनावश्यक रूपमा भाइरल बनाइयो।”

उनले एकैछिनको भेटघाट र एउटा तस्बिरका आधारमा आफूलाई राजनीतिक धार वा समर्थनमा रहेको ठान्नु गलत व्याख्या भएको बताउँदै सामाजिक सञ्जालमा फैलिएको भ्रम नफैलाउन आग्रह गरे।

भण्डारीले थप भने, “म राजनीतिक रूपमा कसैको पक्षमा छैन। न कुनै समूह, दल वा व्यक्तिको समर्थनका लागि म त्यहाँ गएको थिएँ। सहीलाई सही र गलतलाई गलत भन्नु नै मेरो सिद्धान्त हो। कृपया एउटा तस्बिरका आधारमा भ्रम नफैलाइदिनुहोस्।”

उनका अनुसार हाल भाइरल तस्बिरले वास्तविक प्रसंगको विपरीत गलत व्याख्या पाएको छ।