गएराति चितवनको कालिका नगरपालिका–११ मा भएको बोलेरो दुर्घटनामा नेपाली कांग्रेसका स्थानीय नेता राममणी न्यौपानेको ज्यान गएको छ। शनिबार राति साढे ११ बजेतिर बा.१८च ८९७३ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
६२ वर्षीय न्यौपाने आफैँले चलाएको बोलेरो अनियन्त्रित भई सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गर्दा करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका न्यौपानेलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कांग्रेसका स्थानीय नेता न्यौपाने सामुदायिक वन, रेडक्रस तथा सामाजिक सेवामा सक्रिय थिए। उनी व्यवसायिक मौरीपालक किसानका रूपमा पनि परिचित थिए।