राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवलको ३ नम्बर इजलासमा परेको छ। सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायधीश मिलन राई र सानुमैया डंगोलको बेन्चमा मुद्दा दर्ता भए पनि सुनुवाइ सुरु भएको छैन।
उक्त मुद्दा बुटवलको सुप्रिम सहकारी संस्थासँग सम्बन्धित रकम ठगी र संगठित अपराधसँग सम्बन्धित छ। लामिछाने र जोशी दुवै अहिले थुनामा रहेका छन्। गत साता पेशी तोकिए पनि लामिछानेका कानुन व्यवसायीले स्थगन माग गरेपछि सुनुवाइ रोकिएको थियो।
कात्तिक २० गते न्यायधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरू मिसिल माग्ने आदेश दिएको थियो। यसअघि कात्तिक १३ गते तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएका कारण स्थगित भएको थियो।
यसअघि लामिछानेको मुद्दामा न्यायधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छविलालको मुद्दा समेत एकसाथ सुनुवाइ गर्न आदेश दिएको थियो। साथै, उच्च अदालतले बिगो रकम बुझाइ थुनाबाहिरै रहेर मुद्दा लड्न खोज्दा रवि र छविलाल दुवैको फाइल पेश गर्न पनि निर्देशन दिएको थियो।