प्रतिनिधिसभाको २१ फागुनमा तोकिएको निर्वाचन नजिकिँदै गर्दा वैकल्पिक शक्तिहरुबीच ध्रुवीकरण बढेको छ । जेनजी आन्दोलनपछि नयाँ नयाँ स्वरुपमा दलहरु खुले पनि अन्तत देश विकास र परिवर्तन एजेण्डा समान भएकाले एकीकरण, तालमेल र सहकार्य गरेर जाने गृहकार्य भइरहेको छ । यसको परिणामहरु पनि देखिन थालेको छ ।
बुधबारमात्रै कुलमान घिसिङको अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टी र दलित अभियन्ता खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीबीच एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिनेगरी सहमति भएको छ । दुई नयाँ दल एउटै चुनाव चिन्हमा भाग लिने सहमति वैकल्पिक शक्ति निर्माणको बाटो भएको नेताहरुले बताएका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच त एकीकरणकै सहमति भएको छ । आइतबार घोषणासभा गरेर एकअर्कामा समाहित हुने तयारी छ । वैकल्पिक राजनीतिको सुरुवातकर्ता विवेकशील साझा अघिल्लो चुनावबाट उदाएको रास्वपासँग निशर्त एकीकरणमा जाँदा वैकल्पिक शक्ति निर्माणका लागि ठूलो बल पुगेको नेताहरु बताउँछन् ।
नयाँ दलहरु कि त कुलमान घिसिङको नेतृत्वमा कि त रबि लामिछानेको रास्वपामा गोलबद्ध भइरहेका बेला यी दुबै शक्तिबीच पनि एकीकरण वा तालमेल वा सहकार्यको विकल्पमा चरणबद्ध छलफल भइरहेका छन् ।
रबि सभापति र कुलमान प्रधानमन्त्रीको उम्मेदवारको विकल्पमा पार्टी एकतादेखि चुनावमा तालमेलसम्मका विकल्पमा नेताहरुले घनिभूत छलफल गरिरहेका छन् । जसले नयाँ र वैकल्पिक शक्तिहरुलाई एक बनाउने र आगामी निर्वाचनबाट मुलधारको शक्ति बनाउन मद्दत गर्ने विश्वास नेताहरुको छ ।
रबि र कुलमानलाई मिलाउन काठमाडौं महानगरका मेयर बालेन शाह पनि लागिपरेका छन् । उनले आफ्नो टिमका सदस्यलाई दुई पार्टी मिलाउन सम्वादमा खटाइरहेका छन् ।
दुई पार्टी मिलाउन सम्वाद समिति नै बनाइएको छ । रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालले वार्ता गरिरहेका छन् भने उज्यालो नेपालबाट प्रवक्ता सूर्य थापा, गणेश घिसिङ छलफलमा छन्, कुलमान आफैँले पनि संवाद गरिरहेको नेताहरु बताउँछन् । बालेनको टिमबाट भुपदेव साह, कुमार बेनलगायतले सहजीकरण गरिरहेका छन् । सम्वाद सकारात्मक रहेको र मिलन बिन्दुको पहिचान भइसकेको उनीहरुको धारणा छ ।
यसैबीच नयाँ दल खोलेका रेशम चौधरी वैकल्पिक शक्तिबीच एकताको पक्षमा छन् । उनले राजेन्द्र महतो र अशोक राईको दलसँग चुनावी तालमेलको सहमति गरिसकेका छन् । अझै पनि वैकल्पिक शक्तिहरुबीच तालमेलको सम्भावना रहेको र परिवर्तन पक्षधर मुलधारमा आउनुपर्ने धारणा उनको छ ।