जेनजी आन्दोलनकारी र सरकारबीच आन्दोलनका उपलब्धि संस्थागत गर्ने विषयमा लिखित सम्झौता हुने भएको छ । जेनजीले प्रस्तुत गरेको सम्झौताको प्रस्तावलाई अन्तिम रूप दिएर सोमबार हस्ताक्षरको तयारी गरिएको हो ।
आज जेनजी प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो । छलफलमा सहभागी कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार सोमबारसम्ममा मस्यौदालाई अन्तिमरुप दिने वचन प्रधानमन्त्रीले दिएकी छन् ।
चाम्लिङले भने, ‘हाम्रो मस्यौदामा सम्झौता हुन किन ढिलाइ भइरहेको छ भन्ने हाम्रो जिज्ञासा थियो । यही विषयमा छलफल गर्न प्रधानमन्त्री ज्युले बोलाउनुभयो । उहाँले सोमबारसम्ममा टुंगो लगाउने बताउनुभएको छ ।’’
गत कात्तिक २८ गते जेनजीका केही समूहहरू एक ठाउँमा आएर साझा मस्यौदा बनाएका थिए । उक्त मस्यौदा सरकारलाई बुझाइएको थियो ।
छलफलमा जेनजीको तर्फबाट उपार्जुन चाम्लिङ, रक्षा बम, युजनराज भण्डारी, रिजन राना मगर, मानिषा चौधरी, मोनिका निरौला, भावना राउत र ओजस्वी थापा सहभागी थिए ।
सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता लगायत थिए ।