बेलायतमा बलात्कार अभियोगमा नेपालीलाई २५ वर्षको जेल सजाय

  • प्रकाशित मिति : २०८२ मंसिर १७, बुधबार
  • नेपाल टेल संवाददाता

लन्डन। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्षको जेल सजाय भएको छ ।

बेलायतको पिटरबरोमा बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो ।



ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धि विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ ।

त्यसक्रममा उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ ।

ढकालको बलात्कार र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने एक जनालाई उनले लन्डन पुगेर दुराचार गरेका थिए ।

स्थानीय समुदायमा एक जना विश्वासिलो सदस्य र एक पण्डितका रुपमा समेत बनाएको सहज पहुंचलाई दुरुपयोग गर्दै उनले यौन दुराचार गरेको ठहर अदालतले गरेको छ ।

पीडितमध्ये धेरै ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् । उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको खुलेको छ ।

सन् १९९८ मा लन्डन आएका उनी त्यसअघि लन्डनमा बस्ने गरेका थिए । उनी नर्स श्रीमती र तीन छोराछोरी सहित बेलायत बस्दै आएका थिए ।

पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई स्थानीय नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।