मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

  • प्रकाशित मिति : २०८२ मंसिर १७, बुधबार
  • नेपाल टेल संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।



विश्वासको मत नपाउने देखेपछि सोही २ बजेपछि बसेको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

उनी कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशकै सात दलका सांसद सर्वोच्च पुगेका थिए ।