आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

  • प्रकाशित मिति : २०८२ मंसिर १८, बिहीबार
  • नेपाल टेल संवाददाता

मंसिर शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।



यस अवसरमा आज काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत ठाउँमा मेला लाग्ने गर्छ । यस्तै नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व मनाउँदैछन् ।

योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ ।

योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् ।