लन्डन — काठमाडौंमा परिवारको कार्पेट फ्याक्ट्रीमा हातेमालो गर्दै हुर्किएका र फिजिक्स पढाउँदै आएका श्याम लामा आज बेलायतमा चर्चित बरिष्टा बनेका छन्। आठ वर्षअघि मास्टर्सका लागि यूके पुगेका उनी रेडिङस्थित मन्चिज क्याफेमा काम सुरु गरेपछि कफी यात्रामा प्रवेश गरे।
कफीबारे लगभग केही नजानेका श्यामले युट्युब र स्व–रिसर्चका माध्यमबाट लाट्टे आर्ट सिक्दै आफ्नो कौशल निखारे। २०१८ बाट पूर्णरूपमा यो क्षेत्रमा लागेको श्याम अहिले आर्बरफिल्ड ग्रीनको स्टेबल्स कफी सपमा हेड बरिष्टाका रूपमा काम गर्छन्। उनी इन–हाउस प्रशिक्षणसमेत दिन्छन्। फूल, खरायो, कछुवा, पुतली जस्ता आकर्षक आकृतिका कारण उनका कफी हेर्न–चाख्न ग्राहकको भीड लाग्ने गरेको छ।
श्याम हाल तीन वर्षदेखि यूके लाट्टे आर्ट च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्। हालै लन्डनमा भएको प्रतियोगितामा चौथो स्थान हासिल गरेपछि उनी थप उत्साहित छन्। अब विश्व लाट्टे आर्ट च्याम्पियनसिपमा नेपालका हिमाल, पहाड, तराई झल्किने डिजाइन लिएर प्रतिस्पर्धा गर्ने लक्ष्य उनको छ।
उनको कफी कौशलबीच एक रोचक घटना पनि जोडिएको छ—स्टेबल्समा कफी पिउन आएका बीबीसी बर्कसायरका पत्रकार श्यामको कला देखेर लोभिए। साधारण खरायोको डिजाइन बनाइदिएको कफी मनपरेपछि पत्रकारले उनीसँग सम्पर्क गरी केही समयमै भिडियोसहितको विशेष रिपोर्ट तयार गरे। यसपछि श्यामको लोकप्रियता झनै बढ्यो।
स्पेशालिटी कफी एसोसिएसन (SCA) को मापदण्ड अनुसार कफी तयार गर्नुपर्ने बताउने श्यामका लागि कफी बनावट विज्ञान र कलाको मिश्रण हो। राम्रो स्वादका लागि तापक्रम, मात्रा, समय, दूध, सुगन्ध र मिठास–अमिलो–तीतोको सन्तुलन अनिवार्य मान्छन् उनी।
भविष्यमा आफ्नै कफी सम्बन्धी उद्यम सुरु गर्ने लक्ष्य राख्ने श्याम हाल पत्नी र छोरासहित रेडिङमा बस्छन्। उनका बाबुआमा सिन्धुपाल्चोकबाट सरेर अहिले बौद्ध–जोरपाटीमा बस्दै आएका छन्।