क्रियाशील सदस्यता टुंग्याउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

  • प्रकाशित मिति : २०८२ मंसिर २४, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म गर्न लागिएको पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको काम तत्काल टुंग्याउन निर्देशन दिएको छ। महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई परिपत्र जारी गर्दै सदस्यता नवीकरण र विवरण संकलनलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

परिपत्रमा नवीकरण नगरेका वा विवरण केन्द्रमा नपुगेका जिल्लाले अविलम्ब समन्वय गरी वडाबाटै विवरण संकलन गरेर जिल्ला कार्यसमितिको निर्णयसहित अन्तिम नामावली केन्द्रमा पठाउनुपर्ने उल्लेख छ। त्यससँगै, सदस्यता शुल्क समेत तोकिएको समयमा नै बुझाउन आग्रह गरिएको छ।



यदि निर्धारित मितिभित्र नवीकरण सूचि बुझाइसकिएपछि पनि कुनै सदस्य छुटिएमा, ती व्यक्तिहरूको छुट्टै नामावली तयार गरी पुस ३ गतेभित्र अनिवार्य रुपमा केन्द्रमा पठाउन निर्देशन दिइएको छ।

यसअघि केन्द्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत गर्ने निर्णय गरेपछि सबै क्षेत्रीय कार्यसमितिमा फारम पठाइसकिएको परिपत्रमा उल्लेख छ।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पुस १० गतेभित्र र दुई वा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ गतेभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरी केन्द्रमा पठाउनुपर्ने कांग्रेसले स्पष्ट गरेको छ।

परिपत्रमा महाधिवेशन कार्यतालिका अनुरूप सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गर्न मातहतका सबै समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्न समेत अनुरोध गरिएको छ।