अभिनेत्री रेखा थापाले किताब र सिनेमा एउटै स्वर, भाव र सामाजिक कथाबाट जन्मिने भएकाले दुवै माध्यम उस्तै प्रभावकारी रहेको बताएकी छन् ।
नेपाल पुलिस क्लबमा किताब यात्रा फाउण्डेशनद्वारा आयोजित किताब जात्राको दोस्रो दिन उनले किताब र सिनेमाले समाजका वास्तविकता उजागर गर्ने साझा भूमिका खेल्ने धारणा राखिन् ।
थापाले आफू निरन्तर किताब पढ्ने बताउँदै नेपाली समाजमा दुःखका कथा बढी हाबी हुने गरेको उल्लेख गरिन् । “हामीले समाज हाँसिरहेको कथा किताब र फिल्ममा कहिले देखाउन पाउँला?” भन्दै उनले नेपाली कथानक अझै सकारात्मकता खोजिरहेको समय आएको बताइन् ।
कार्यक्रमका सहजकर्ता नरेश भट्टराईले सोधेको ‘निर्वाचनमा सहभागी हुने सम्भावना कत्तिको छ?’ भन्ने प्रश्नमा उनले यसपटक राजनीति होइन, सिर्जनात्मक यात्रालाई प्राथमिकता दिने उल्लेख गरिन् । “म निर्वाचनमा होमिँदिन, फिल्ममै सक्रिय रहन्छु,” थापाले स्पष्ट गरिन् ।
पढाइमा राम्रो भए पनि कलाप्रतिको मोहले शैक्षिक ध्यान घट्दै गएको बताउँदै थापाले रुचिको क्षेत्रमा दक्षता हासिल गर्दा नै सफलता मिल्ने धारणा राखिन् ।
सफलताको मापन पढाइले मात्र हुन नसक्ने बताउँदै उनले उदाहरणसहित भनिन्, “के हामीले बुद्धको पढाइ सोध्छौँ? बुद्धको कर्मले समाज र जीवमा प्रभाव पार्छ। कला साधना भएकाले क्लासको पढाइले मात्र जीवनमा अर्थ राख्दैन ।”