इरानमा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी पक्राउ

  • प्रकाशित मिति : २०८२ मंसिर २७, शनिबार
  • नेपाल टेल संवाददाता

इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई हिंस्रक रूपमा पक्राउ गरेको उनको फाउन्डेसनले जनाएको छ।

नर्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानको सहर मसहदमा अन्य अधिकारकर्मीहरूसँगै पक्राउ गरिएको हो। पक्राउको क्रममा बल प्रयोग गरिएको बताइएको छ।



यस घटनाप्रति नोबेल समितिले गहिरो चिन्ता व्यक्त गर्दै इरानी अधिकारीहरूलाई मोहम्मदीलाई कहाँ राखिएको छ भन्ने स्पष्ट जानकारी दिन, उनको सुरक्षा र मानवीय मर्यादा सुनिश्चित गर्न तथा उनलाई बिनासर्त रिहा गर्न आग्रह गरेको छ। तर, यस विषयमा इरानी सरकारबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

मोहम्मदीलाई इरानमा महिलामाथिको दमनविरुद्धको संघर्ष र मानव अधिकारको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनी सन् २०२१ देखि तेहरानस्थित कुख्यात एविन जेलमा थुनामा थिइन्।

स्वास्थ्य समस्याका कारण डिसेम्बर २०२४ मा उनलाई तीन हप्ताका लागि अस्थायी रूपमा जेलमुक्त गरिएको थियो। तर पुनः पक्राउ परेपछि उनको अवस्था र सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेको छ।