एपस्टिन प्रकरणः गेट्स, चोम्स्की र बननका तस्बिरसहित ६८ नयाँ फोटो सार्वजनिक

  • प्रकाशित मिति : २०८२ पुष ४, शुक्रबार
  • नेपाल टेल संवाददाता

जेफ्री एपस्टिनसँग जोडिएको चर्चित ‘सेक्स स्क्यान्डल’ प्रकरणमा ६८ वटा नयाँ तस्बिर सार्वजनिक भएका छन्। ती तस्बिर बिहीबार राति अमेरिकी संसद्को हाउस ओभरसाइट कमिटीका डेमोक्र्याट सांसदहरूले सार्वजनिक गरेका हुन्।

सार्वजनिक तस्बिरमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, राजनीतिक दार्शनिक तथा अभियन्ता नोम चोम्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसहायक स्टिभ बनन देखिएका छन्। दुई तस्बिरमा अर्बपति गेट्स महिलासँग देखिए पनि ती महिला एउटै हुन् वा फरक भन्ने खुल्न सकेको छैन। गुगलका सहसंस्थापक सर्गेई ब्रिन पनि एउटा तस्बिरमा समेटिएका छन्।



तर, यी तस्बिरले सम्बन्धित व्यक्तिहरू कुनै गैरकानुनी गतिविधिमा संलग्न थिए वा थिएनन् भन्ने पुष्टि गर्दैनन्। यसबारे थप विवरण एपस्टिनसम्बन्धी सम्पूर्ण फाइल सार्वजनिक भएपछि मात्र स्पष्ट हुने बताइएको छ।

हाउस ओभरसाइट कमिटीका डेमोक्र्याट सांसदहरूले एपस्टिनका गतिविधि र उनीसँग जोडिएका सहयोगीहरूको सञ्जालबारे पारदर्शिता बढाउने उद्देश्यले तस्बिर सार्वजनिक गरिएको जनाएका छन्। अमेरिकी न्याय मन्त्रालयले भोलि यस प्रकरणसँग सम्बन्धित सबै फाइल सार्वजनिक गर्ने जनाएको छ।

गेट्स, चोम्स्की र बननका प्रतिनिधिले टिप्पणीका लागि रोयटर्सको अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्। यसअघि गएको साता पनि डेमोक्र्याटहरूले सोही संग्रहबाट १९ तस्बिर सार्वजनिक गरेका थिए, जसमा बिल गेट्स र केही तस्बिरमा ट्रम्पसमेत देखिएका थिए। ट्रम्पले ती तस्बिरलाई ठूलो विषय नभएको प्रतिक्रिया दिएका थिए।

यता, रिपब्लिकन सांसदहरूले डेमोक्र्याटले छानिएका तस्बिर मात्र सार्वजनिक गरी राष्ट्रपति ट्रम्पलाई लक्षित गर्ने प्रयास गरेको आरोप लगाएका छन्। ती दस्तावेजमा ट्रम्पको कुनै गलत कामको प्रमाण नरहेको उनीहरूको दाबी छ।

जेफ्री एपस्टिन न्युयोर्कका करोडपति वित्तीयकर्ता थिए। उनी विश्वका प्रभावशाली नेता र सेलिब्रिटीसँग निकट सम्बन्धमा रहेको बताइन्छ। उनीमाथि सन् २००५ मा नाबालिगमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो।