राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामिछानेले अदालतमा पौने ४ करोड रुपैयाँ बुझाएसँगै रिहा भएका छन्। उनले जिल्ला अदालत, रुपन्देहीमा धरौटी १ करोड र बिगो वापतको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका हुन्। एक करोड धरौटी सुरुमै थुनछेक आदेश हुँदा बुझाइसकेका थिए। पौने ३ करोड बैंक जमानत पनि उनले यसअघि निवेदन साथ पेश गरिसकेका थिए।
बैंक जमानत बुझाएपछि उनी शुक्रबार साँझ थुनामुक्त भएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए। अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार आवश्यक बैंक जमानत बुझाएपछि रविलाई रिहा गरिएको हो।
लामिछाने भैरहवाबाट चितवन प्रस्थान गर्ने रास्वपा नेता गणेश पराजुलीले बताए। चितवनमा भोलि रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । उनी भोली साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।