कांग्रेस क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ, ९ जिल्लाले फाइल अपलोड गर्न सकेनन्

  • प्रकाशित मिति : २०८२ पुष ९, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबार मध्यान्ह १२ बजेसम्म नवीकरणसम्बन्धी फाइल सर्भरमा पठाइसक्न मातहतका जिल्ला समितिलाई निर्देशन दिएको थियो। तोकिएको समयभित्र फाइल नपठाए सर्भरमा इन्ट्री गर्न दिइएको ‘एक्सेस’ बन्द गरिने चेतावनी पनि समितिले दिएको थियो।

तर समितिको उक्त निर्देशन ९ जिल्ला समितिले कार्यान्वयन गर्न सकेनन्। समिति सदस्य योगेन्द्र चौधरीका अनुसार कोशी प्रदेशका २, मधेस प्रदेशका ३, बागमती प्रदेशको १, लुम्बिनी प्रदेशको १ र सुदूरपश्चिम प्रदेशका २ जिल्ला समितिले नवीकरणको फाइल सर्भरमा अपलोड गरेका छैनन्।



कोशी प्रदेशअन्तर्गत संखुवासभा र खोटाङले फाइल अपलोड नगरेको जनाइएको छ। खोटाङमा पार्टी सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेकाले प्रक्रिया नै अगाडि बढ्न नसकेको चौधरीले बताए।

मधेस प्रदेशमा धनुषा, महोत्तरी र बाराले नवीकरणको फाइल अपलोड गरेका छैनन्। बागमती प्रदेशको दोलखा, लुम्बिनी प्रदेशको प्यूठान तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाले पनि सर्भरमा फाइल अपलोड नगरेका छन्।

यसैबीच, थप ५ जिल्लाले सर्भरमा तथ्यांक अपलोड नगरे पनि इमेलमार्फत एक्सेल फाइल पठाइसकेको जानकारी चौधरीले दिएका छन्। एक्सेल फाइल पठाउने जिल्लामा दाङ, तनहुँ, नवलपरासी पश्चिम, रुकुम पूर्व, बर्दिया र डोटी रहेका छन्।