नेपालमा क्यासिनो इभेन्टको आयोजना गरी तासमा चिप जडान गर्ने र आँखामा विशेष प्रकारको लेन्स लगाएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा इभेन्ट नै आयोजना गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो। पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, बिक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन्।
त्यसैगरी क्यासिनो सञ्चालक विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भनिने व्यक्ति फरार रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार डिसेम्बर ११ देखि १४ तारिखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर क्यासिनो इभेन्ट आयोजना गरिएको थियो। महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गर्नुका साथै चिप जडित तास र विशेष प्रकारका लेन्सको जोहो गरेका थिए।
ठगीकै उद्देश्यले भारतबाट ५० प्याकेट म्याग्नेट जडित तास र करिब ४ सय विशेष लेन्स खरिद गरी ल्याइएको अनुसन्धानबाट खुलेको छ। ती लेन्स लगाउँदा तासको दुवैपट्टि देखिने भएकाले अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा ठगीबाट जितेको रकममध्ये ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने सहमति सुरेश महाजन र दिनेश बर्माबीच भएको खुलेको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले नेपाली र भारतीय रुपैयाँ, चिप जडित तास, विशेष लेन्स, हवाई टिकटलगायत सामग्री बरामद गरेको छ। वाल्डो क्यासिनोले समेत कानुन उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरी आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।