कुलमानसहित आजै रवि र बालेन फेरि छलफलमा बस्ने, ‘न्युट्रल भेन्यु’को प्रस्ताव

  • प्रकाशित मिति : २०८२ पुष १०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच आजै साँझ पुन: छलफल गर्ने तयारी गरिएको हो । यसअघि आज बिहानैबाट ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बालेनले छलफल गरिरहेका छन् ।



रवि पनि छलफलका लागि पुगेका थिए । त्यसपछि अहिले विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार, रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर पुन: आउने बताएर फर्किएका थिए ।

बेलुकीको बैठक अर्को ‘न्युट्रल भेन्यु’ मा राख्ने प्रस्ताव रविले गरेका थिए । बालेनले भने त्यसबारे केही जवाफ दिएका थिएनन् ।