रवि–बालेन संवाद अन्तिम चरणमा, आजै सहमतिको टुंगो लाग्ने संकेत

  • प्रकाशित मिति : २०८२ पुष ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच जारी छलफललाई निष्कर्षमा पुर्‍याउन सहकर्मीहरू सक्रिय भएका छन्।

रवि र बालेनबीच दुई चरणको वार्ता गराइसकेका असीम शाह, आसिफ शाह र कुमार बेनले विस्तृत सहमतिको खाका तयार पार्ने उद्देश्यसहित अर्को चरणको छलफलको गृहकार्य थालेका हुन्।



निकट स्रोतका अनुसार शुक्रबार रातिसम्म दुवै नेताबीचको संवादले अन्तिम टुंगो पाउने तयारी छ। तत्काल पार्टी एकता वा सहकार्यको घोषणा हुने उनीहरूको दाबी छ।

यसअघि रविसँग भएका छलफलहरू निर्णायक मोडमा नपुगेपछि बालेनले आफ्ना निकट सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा भेटघाट बढाउँदै देश विकास पार्टीका लागि समर्थन जुटाउने प्रयास तीव्र पारेका थिए। ७ पुसको राति कमलपोखरीमा भएको छलफलका विषयलाई रविले बाहिर फरक ढंगले प्रस्तुत गरेको आरोप लगाउँदै बालेन असन्तुष्ट बनेका थिए।

रविले रास्वपामा पहिल्यै धेरै आकांक्षी रहेकाले समानुपातिक उम्मेदवार सूची ७०–३० को अनुपातमा बनाउनुपर्ने प्रस्ताव राखेका थिए। संख्या घटबढ गर्न सकिने लचकता पनि उनले देखाएका थिए। बालेनले भने समानुपातिक संख्यामा खास चासो नदिएको बुझिएको छ। यस विषयमा कुमार बेन, असीम शाहलगायतले समन्वय गर्ने र त्यसैमा बालेन सहमत हुने संकेत छ।

हिजो ज्वागलमा बालेनसँगको भेटपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीले ‘लौरी कि घण्टी’ भनेर सोध्दा रविले ‘समयले बताउने’ जवाफ दिएका थिए। यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी नै स्थापित भइसकेकाले त्यसअन्तर्गत अघि बढ्न बालेनलाई समस्या नहुने संकेत उनीनिकट स्रोतले दिएका छन्।

रवि–बालेनबीचको संवाद तिक्ततातर्फ जान थालेको देखेपछि सहकर्मीहरूले दुवै नेतालाई शीघ्र सहमतिमा पुग्न दबाब दिएका थिए। बिहीबार साँझ पुनः वार्ता हुने भनिए पनि त्यो बस्न सकेन। सोही समयमा बालेनले कुलमान घिसिङसँग अलग्गै छलफल गरेका थिए।

रवि र कुलमानबीच प्रत्यक्ष संवाद नभइरहेका बेला विभिन्न शक्ति र व्यक्तिलाई एक ठाउँ ल्याउने जिम्मेवारी बालेनले लिएको बताइएको छ।