सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन्।
मन्त्री खरेलले आज एकै दिन प्रमुख तीन दलका अध्यक्ष तथा सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। सोही कार्यक्रमअनुसार उनी सबैभन्दा पहिले नेपाली कांग्रेसका सभापति देउवासँग भेट गर्न उनकै निवास पुगेका हुन्।
देउवासँगको भेटपछि मन्त्री खरेल बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निजी निवास गुण्डु जाने कार्यक्रम छ।
त्यसपछि दिउँसो १२ बजे सञ्चारमन्त्री खरेल नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न उनको निजी निवास पुग्नेछन्।
यसैबीच सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अनुकूल वातावरण तयार पार्न सरोकारवाला पक्षसँग समन्वय र संवादलाई तीव्र बनाएको छ।
साथै, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राजनीतिक दलका कार्यालयहरूको अनुगमनसमेत सरकारले गरिरहेको बताइएको छ।