चुनावको मिति घोषणापछि श्रम संस्कृति पार्टी खोलेर चुनावी प्रचारमा लागेका धरानका मेयर हर्क साम्पाङले नयाँ र वैकल्पिक शक्ति भनिएका दलका नेताहरूलाई विभिन्न आरोप लगाउँदै आएका छन् । स्टाटस नै पिच्छे साम्पाङले उनीहरूलाई ‘विदेशीका दलाल’ को संज्ञा दिन्छन् ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङदेखि, काठमाडौंका मेयर बालेन र रास्वपा अध्यक्ष रवि लामिछानेसम्मलाई उनले विदेशीको इसारामा चलेको आरोप लगाइरहेका छन् ।
पुराना तथा ठूला दलहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई भन्दा उनी पछिल्लो समय नयाँ दल र नेताप्रति आक्रामक सुनिन्छन् ।
साम्पाङले रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच भएको ७ बुँदे सहमतिलाई पनि विदेशीको इसारा भन्दिए । उनले लेखेका छन्, ‘फटाहाहरू.. सिंहदरबार जलाउने र जेन-जीको हत्या गर्नेहरूले विदेशीको इसारामा देश चलाउने रे !’
हर्क साम्पाङले फेसबुकमा लेखेका छन्, ‘हा.. हा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ !’
मिडिया ट्रायलका लागि प्रधानमन्त्री घोषणा गरिएको साम्पाङको आरोप छ ।