नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरू सामाजिक सञ्जालमा ‘देशै कब्जा गरिसक्यौं’ भन्ने भ्रम फैलाएर रमाइरहेको टिप्पणी गरेका छन् । विचार, इतिहास, त्याग र बलिदानबिनै सामाजिक सञ्जालमा होहल्ला मच्चाउने प्रवृत्तिप्रति उनले कडा आलोचना गरे ।
रुकुमबाट १५ दिन पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद दिन मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
उनले सामाजिक सञ्जालमा विचारविहीन र निष्ठाविहीन समूहले देश पूरै नियन्त्रणमा लिइसकेजस्तो भ्रम सिर्जना गरिरहेको बताए । ‘दशकौंसम्म संघर्ष, आन्दोलन, त्याग–तपस्या र बलिदान गरेका शक्तिहरूलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘सहर–बजारका केही मानिस त्यही हल्लामा रमाइरहेका छन् ।’
प्रचण्डले सामाजिक सञ्जालमा सक्रिय भएर होहल्ला गर्नेहरूलाई नै मुक्तिदाताजस्तो प्रस्तुत गर्ने प्रवृत्ति बढेको उल्लेख गरे । तर, लामो इतिहास र वैचारिक आधार भएका दलहरू सकिइसके भन्ने प्रचार जनताले नपत्याएको उनको दाबी छ । जनतामा अझै पनि नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण कायम रहेको उनले बताए ।
उनले वर्तमान समय सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को भए पनि यसको प्रयोगमा सचेत हुनुपर्नेमा जोड दिए । ‘हामी मोबाइल चलाइरहेका छौं, सामग्री पोष्ट गरिरहेका छौं भन्ने लाग्छ, तर यसको प्रभुत्व प्रतिक्रियावादी र वैदेशिक साम्राज्यवादी शक्तिहरूकै हातमा छ,’ प्रचण्डले भने, ‘उनीहरूले चाहेअनुसार प्रविधि र सूचनाको प्रयोग भइरहेको छ ।’
प्रचण्डले प्रविधिको सही र जनपक्षीय प्रयोगबिना समाजलाई सही दिशामा लैजान नसकिने भन्दै सचेत र वैचारिक रूपमा दृढ हुन कार्यकर्तालाई आग्रह गरे ।