सन् २०२५ मा नेपालबाट १५ लाखभन्दा बढी नेपाली विदेशिएको तथ्यांक सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागका अनुसार सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म कुल १५ लाख २३ हजार नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएका छन्।
विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार यही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्। यसले सन् २०२५ मा विदेशिने नेपालीको संख्या फर्किनेको तुलनामा उल्लेख्य रूपमा बढी रहेको देखाउँछ।
यस्तै, अध्यागमन तथ्यांकअनुसार २०२५ मा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्किएका छन्। नेपाल आउने अधिकांश विदेशी नागरिक घुमफिर तथा पर्यटन प्रयोजनका लागि आउने गरेका छन्।
नेपालको अध्यागमन विभागले विदेशी नागरिकलाई पर्यटक, श्रम, अध्ययनलगायतका गरी करिब १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ। अर्कोतर्फ, नेपाली नागरिकहरू भने अध्ययन र वैदेशिक रोजगारीसँगै पर्यटन तथा व्यवसायिक प्रयोजनका लागि पनि विदेश जाने गरेको विभागले जनाएको छ।
यस तथ्यांकले वैदेशिक रोजगारी र अध्ययनप्रतिको नेपालीको आकर्षण कायमै रहेको तथा पर्यटन क्षेत्रमा विदेशी आगमन क्रमशः बढ्दो रहेको संकेत गर्छ।