गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोग अध्यक्ष गौरीबहादुर कार्कीले जेन–जी आन्दोलनसम्बन्धी विषयमा ओलीलाई बयानका लागि पत्र पठाइने जानकारी दिए।
‘हामी ओलीलाई बयानका लागि बोलाउने प्रक्रियामा छौँ, पत्र काट्ने तयारी भइरहेको छ,’ कार्कीले बताए। ओली बयानका लागि उपस्थित नभए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘आउनुभएन भने त्यसबेला गर्नुपर्ने कानुनी प्रक्रिया अनुसार नै अघि बढ्छौँ। अहिले उहाँलाई पत्र पठाउने तयारी भइरहेको छ।’
यसअघि आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको बयान लिइसकेको जनाएको छ।