मुख्यमन्त्रीको सचिवालय- वनभोजमा जाँदा चढेको हेलिकोप्टर आफ्नै खर्चमा

  • प्रकाशित मिति : २०८२ पुष १७, बिहीबार
  • नेपाल टेल संवाददाता

बाग्मतीका मुख्यमन्त्री इन्द्र बानिया हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको उनको सचिवालयले पनि स्वीकारेको छ । तर, हेलिकोप्टरको खर्च मुख्यमन्त्रीको आफ्नै भएको सचिवालयको दाबी छ ।

मुख्यमन्त्री बानियाका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले यस्तो दाबी गरेका हुन् । आज जलवायु सम्बन्धी कार्यक्रममा भाग लिन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर लगिएको उनले बताए । त्यहाँ पुगेपछि सिराहाबाट कांग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको उनको भनाइ छ ।



पुडासैनीले भने, ‘सभापतिज्यूले आज कांग्रेसको कार्यक्रम छ, आइदिनुपर्‍यो भनेर बोलाउनुभयो । पार्टी सभापतिले बोलाएपछि नजाने कुरा भएन । त्यसपछि सोही हेलिकोप्टर लिएर जानुभएको हो ।’

कार्यक्रम स्थलमा पुगेपछि मात्रै पिकनिक रहेछ भन्ने थाहा भएको समेत उनले दाबी गरेका छन् । ‘हेलिकोप्टरमा घुम्दाको सबै खर्च मुख्यमन्त्रीज्यूको व्यक्तिगत हुन्छ, सरकारलाई भार पर्दैन,’ उनले थपे ।

मुख्यमन्त्रीको हेलिकोप्टर आउँदा पिकनिकमा सहभागी भएका स्थानीयवासीहरु रमाएका थिए । हेलिकोप्टर हेर्नलाई तँछाडमछाड भएको थियो ।