लण्डनमा नेपालीहरुले मनाए टोपी दिवस !

  • प्रकाशित मिति : २०८२ पुष १८, शुक्रबार
  • नेपाल टेल संवाददाता

लन्डन। अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन लन्डनमा रहेका नेपालीहरूले आफ्नो मौलिक पहिचान झल्काउने उद्देश्यले ‘राष्ट्रिय टोपी दिवस’ भव्य रूपमा मनाएका छन्।

नेपाली संस्कृति, पहिचान र गौरवलाई विश्वस्तरमा चिनाउने उद्देश्यले वेस्ट लन्डनको हन्स्लो हाइस्ट्रिटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।



बिहान ११ बजे हन्स्लो हाइस्ट्रीटस्थित काठमाडौँ जोन रेस्टुरेन्ट नजिक भेला भएका सहभागीहरूले ल्याम्टन पार्कसम्म पदयात्रा गरेका थिए।

पदयात्रामा सहभागीहरूले ‘नेपाली पहिचान, हाम्रो गौरव’ र ‘सांस्कृतिक पदयात्रा र नेपालीको ऐक्यबद्धता’ जस्ता नारा लगाएका थिए।

ढाका र भादगाउँले टोपीमा सजिएर नेपाली झण्डा बोकेका नेपालीहरूको बाक्लो उपस्थितिले लन्डनको सडकमा छुट्टै नेपालीपनको रौनक थपेको थियो।

कार्यक्रममा नेपाली महिलाहरूको पनि उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रम संयोजक कमल कँडेलले प्रवासमा रहेर पनि नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न र राष्ट्रिय भावना अभिवृद्धि गर्न यो दिवस मनाइएको बताए।

उनले आगामी दिनमा अन्य मौलिक चाडपर्वहरू पनि सामूहिक रूपमा मनाइने जानकारी दिए। विशेषगरी आगामी फागु पूर्णिमामा नेपाली समुदायलाई पुनः यसरी नै भेला गराएर फागू पर्व मनाउने लक्ष्य रहेको उनले बताए।

संयोजक कँडेलले भने “हाम्रो टोपी हाम्रो शान हो। अङ्ग्रेजी नयाँ वर्षको सुरुवातसँगै आफ्नो मौलिक पहिचानको स्मरण गर्नु गौरवको कुरा हो।”

वि.सं. २०७० सालदेखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले आज विश्वभर छरिएका नेपाली समुदायमा लोकप्रियता कमाएको छ। नेपालको इतिहास, राजनीति र कूटनीतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको नेपाली टोपीलाई एकताको प्रतीक मानिन्छ।

लन्डनमा आयोजित यस कार्यक्रमले बेलायतमा बसोबास गर्ने नेपालीहरूबीच एकताको भावना र सांस्कृतिक ज्ञानलाई अझ प्रगाढ बनाएको सहभागीहरूले बताए।