राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा करेक्सनका लागि व्यापक गृहकार्य गरिरहेको छ । केही उम्मेदवारले स्वैच्छिक रूपमा आफ्नो नाम फिर्ता लिइरहेका छन् भने केहीलाई पार्टीले नै प्रेसर गरिरहेको स्रोतले बतायो ।
स्रोतका अनुसार अहिले रास्वपामा सबैभन्दा बढी विपिन आचार्यको नाममाथि विवाद छ । उनी रास्वपाका सहमहामन्त्री हुन् । उनी रास्वपाको समानुपातिक उम्मेदवार छनोट समितिमा थिए । तर, पछि त्यसबाट निस्किएर आफैँ उम्मेदवार बने ।
रास्वपाले प्रकाशित गरेको प्रारम्भिक निर्वाचनका उम्मेदवारहरूको सूचीमा विपिनको नाम थिएन । तर, पनि उनलाई प्राइमरी इलेक्सनमा भाग लिन अनुमति दिइयो । विपिनले प्राइमरीमा खस आर्य पुरुषतर्फ तेस्रो सर्वाधिक मत ल्याए । बन्दसूचीमा भने उनी सोही क्लस्टरको एक नम्बरमा परेपछि कतिपय नेताहरू असन्तुष्ट बनेका थिए ।
स्रोतका अनुसार विपिनलाई बन्दसूचीबाट हट्न व्यापक दबाब छ । उनले भने, ‘अहिलेसम्म हट्ने मनस्थिति बनाइसकेका छैनन् ।’
यसैगरी दबाबमा रहेका अर्का नेता हुन् मिलन लिम्बु । उनी आदिवासी जनजाति पुरुषको क्लस्टरमा छैटौँ नम्बरमा छन् । यसअघि उनी इलाममा भएको उपनिर्वाचनमा रास्वपाबाट प्रतिस्पर्धा गरेर हारेका थिए । प्रत्यक्षमा हारेपछि समानुपातिकमा आउन चाहेका लिम्बुलाई सभापति रवि लामिछानेले नै ब्याक हुन भनिरहेको स्रोतले बतायो ।
आदिवासी जनजातितर्फ कुलमान घिसिङको कोटाबाट समेटिएका डा. महेन्द्र लावती आफूलाई पछाडि पारिएको भन्दै असन्तुष्ट छन् । उनको नाम १२ औँ नम्बरमा रहेको छ । लावतीले आफू एकता प्रक्रियामै नजाने चेतावनी दिएका थिए । उनलाई क्रमसंख्यामा माथि उकाल्नुपर्ने भएपछि सभापति लामिछानेले मिलनलाई ब्याक गराउन खोजेका हुन् । मिलनको स्थानमा लावतीलाई राख्ने उनको रणनीति छ ।