नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्। मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने प्रयासमा लागेको उल्लेख गरेका छन्। उनका अनुसार एमाले र कांग्रेसबीच नजिकिँदै गएको सहकार्यलाई देखेर निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र भइरहेको छ।
अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, “तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन। एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा टुक्र्याएर गराउने षड्यन्त्रमा लागेका छन्।”
उनले वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको समेत औंल्याए। ओलीले भने, “नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ, वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको छ।”
एमालेको सचिवालय बैठक हाल जारी रहेको छ। बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।