सरकारले आजबाट निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि आवेदन खुला गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ना प्रक्रिया सुरु गरिएको हो।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरिएको जनाएको छ। सूचनाअनुसार आजबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा दरखास्त लिने क्रम सुरु भएको छ। आवेदन प्रक्रिया माघ १ गतेसम्म चल्नेछ। बिदाका दिनमा समेत दरखास्त लिन सकिने जनाइएको छ।
आवेदन जिल्ला प्रहरी परिसरहरू (काठमाडौं, भक्तपुर र ललितपुर) तथा सबै जिल्ला प्रहरी कार्यालयमार्फत दिन सकिने व्यवस्था गरिएको छ। निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
यसैगरी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा गरेका व्यक्ति तथा विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकता दिइनेछ।