देउवा र शेखरनिकट जिल्ला सभापतिको संयुक्त वक्तव्य, विशेष महाधिवेशनको वातावरण नै नबनेको दाबी

  • प्रकाशित मिति : २०८२ पुष २६, शनिबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका १२ जिल्ला सभापतिले अहिले विशेष महाधिवेशनको वातावरण नबनेको बताएका छन्। धादिङ, मोरङ, दोलखा, नुवाकोट, खोटाङ, चितवन, कालिकोट, रुपन्देही, दैलेख, पाँचथर, बाजुरा र पश्चिम नवलपरासीका सभापतिहरूले संयुक्त वक्तव्य जारी गर्दै पार्टी फुटबाट जोगाउन आग्रह गरेका छन्।


१५ औ नियमित महाधिवेशन २०८३ वैशाख मसान्त सम्मको कार्यतालिका पुस १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको उल्लेख छ।



वक्तव्यमा भनिएको छ, विशेष महाधिवेशनको उपर्युक्त वातावरण समेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवाद मार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुनु आवश्यक छ ।

कांग्रेस अन्य भेला, समारोहमा नअलमलिई संविधानको संरक्षण र मुलुकका राजनीतिक निकासको लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सकृयरुपमा केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ छ।

संस्थापन पक्षको सहमतिका बीच पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन भोलिबाट सुरु हुँदै छ। विशेष महाधिवेशनको विपक्षमा संयुक्त वक्तव्य जारी गर्ने जिल्ला सभापतिहरू सभापति देउवा र इतर पक्षका नेता डा। शेखर कोइरालानिकटका हुन्।