बेलायतका लागि कार्यवाहक नेपाली राजदूत दुवाडीसँग गोरखा धार्चेकी उपाध्यक्ष तथा गायिका गुरुङको भेटघाट

  • प्रकाशित मिति : २०८२ पुष २६, शनिबार
  • नेपाल टेल संवाददाता

लन्डन । गोरखाको धार्चे गाउँपालिकाकी उपाध्यक्ष तथा लोक तथा दोहोरी गायिका सुनिला गुरुङले बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीसँग भेट गरेकी छन् ।

गोरखा जिल्ला गुरुङ समाज यूकेका पदाधिकारीसहित सुनिला शुक्रबार ९ जनवरी २०२६मा लन्डनस्थित केन्सिङटनमा रहेको नेपाली राजदूतावास पुगेर कार्यवाहक राजदूत दुवाडीसँग भेटवार्ता गरेकी हुन् । उक्त भेटघाटले आपसी समझदारी, सहकार्य र प्रवासी नेपाली, विशेषगरी गोरखा जिल्ला धार्चे गाउँपालिका र गोरखा जिल्ला गुरुङ समाज यूकेबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिएको सुनिलाले बताएकी छन् ।



‘आज मिति २०८२/०९/२५ गतेका दिन युनाइटेड किङडममा महत्वपूर्ण भेटघाट गर्ने अवसर प्राप्त भयो । यस क्रममा नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत आदरणीय विपिन दुवाडीज्यू तथा गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङज्यू र निवर्तमान अध्यक्ष फड्कजित गुरुङज्यू , गोरखा जिल्ला गुरुङ समाज यूकेका FCA आमा समूहकी सचिव टीका गुरुङ दिदी र सामाजिक व्यक्तित्व मेरो आदरणीय बालचन्द्र गुरुङ दाजु सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले फेसबुकमा लेखेकी छन् ।

सोही अवसरमा बेलायत भ्रमणमा रहेका निवर्तमान सांसद अमरेशकुमार सिंहसँग पनि भेटघाट हुँदा खुशी लागेको उनले बताइन् । ‘सबैको माया, साथ र सहयोगप्रति आभारी छु,’ उपाध्यक्ष सुनिलाले भनिन् ।

धार्चे गाउँपालिकाका उपाध्यक्ष तथा लोकदोहोरी गायिका सुनिला गुरुङ गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा डिसेम्बर २२ तारिख साँझ ८ बजे लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएकी थिइन् ।