निर्वाचन आयोगले दियो गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता

  • प्रकाशित मिति : २०८२ माघ २, शुक्रबार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता गगन थापालाई दिएको छ ।

आयोगले शुक्रबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।



आयोगको आज बसेको बैठकले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ । यस निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन बनेका छन् ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आयोग पुगेका थिए । आयोगले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै यसबाट चयन पदाधिकारीहरुको विवरण अद्यावधिक गरेको हो ।

त्यस्तै, सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको जिकिर गर्दै उनी पक्षका नेताहरु पनि शुक्रबार आयोग पुगेका थिए । दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक भएको भन्दै आयोगले सो विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको हो ।