कांग्रेस विवाद: देउवा समूहको रिटको पेसी माघ ६ मा, कार्यसमिति र उम्मेदवारी रोक्न माग

  • प्रकाशित मिति : २०८२ माघ ४, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेस देउवा समूहका तर्फबाट दायर गरिएको रिटको पेसी आउँदो मंगलबार (माघ ६) का लागि तोकिएको छ। पार्टीसम्बन्धी विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध देउवा समूह आइतबार (माघ ४) सर्वोच्च अदालत पुगेको थियो।

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा दायर रिटमा मुख्यतः तीनवटा माग राखिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई काम गर्न रोक लगाउनुपर्ने र विशेष महाधिवेशन अवैध भएको जिकिर रिटमा गरिएको छ।



त्यस्तै, नवनिर्वाचित कार्यसमितिलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएकाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वले सिफारिस गरेका व्यक्तिहरूको मनोनयन दर्ता नगर्न आग्रह गरिएको हो।

यदि मनोनयनपत्र दर्ता भइसकेको अवस्था रहेमा त्यसलाई यथास्थितिमा राख्न पनि रिटमा माग गरिएको छ। पेसीको मिति र मनोनयन दर्ताको मिति एकै दिन परेकाले यस्तो माग अघि सारिएको बताइएको छ।