राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सोमबार बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहान करिब ७ बजे जानकी मन्दिर पुगेका थिए ।
आइतबार साँझ जनकपुर आइपुगेका बालेन आज बिहान पूर्वसांसद डा. अमरेश सिंहसँगै जानकी मन्दिरमा पुगेर पूजाआजा र आरती दर्शनमा सहभागी भए । मन्दिर परिसरमा बालेनको उपस्थितिमा रास्वपाका हजारौँ नेता तथा कार्यकर्ताको भीड देखिएको थियो । सो क्रममा बालेन र सिंह दुवैले सँगै बसेर आरती अवलोकन गरेका थिए ।
पूजापाठपछि बालेनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दाससँग भेटघाट गरेका छन् ।
त्यसपछि उनी मधेश आन्दोलनको स्मृतिमा मनाइने बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहाको लहान प्रस्थान गरेका छन् । लहानमा उनले मधेश आन्दोलनका प्रथम सहिद रोशन महतोको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
लहानबाट जनकपुर फर्किएपछि बालेनले आज दिउँसो १ बजे रास्वपाले जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्नेछन् । सोही सभामा पूर्व कांग्रेस नेता डा. अमरेश सिंह रास्वपामा प्रवेश गर्ने कार्यक्रमसमेत रहेको पार्टीले जनाएको छ ।
सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।