इलाम-२ मा सुवाससँग हारेका भेषराज सुहाङसँग चुनाव लड्ने

  • प्रकाशित मिति : २०८२ माघ ५, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाएको छन् ।

भोलि हुने उम्मेदवारी दर्ताअघि कांग्रेसले धमाधम उम्मेदवार तय गर्दैछ । सो क्रममा सभापति गगन कुमार थापाले आचार्यलाई इलाम–२ को टिकट दिएका हुन् ।



यो क्षेत्रमा गत ०८१ वैशाखमा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका थिए ।

त्यतिबेला कांग्रेसले यहाँ डम्बरबहादुर खड्कालाई उठाएको थियो । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले भने २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।

अहिले भने कांग्रेसले उम्मेदवार फेरेको हो । कांग्रेसले टिकट दिएका आचार्य ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि उम्मेदवार भएका थिए ।

त्यतिबेला उनी सुवास नेम्वाङसँग पराजित भएका थिए । तिनै आचार्यलाई अहिले कांग्रेसले उम्मेदवार बनाएको हो ।

०७० को संविधानसभा निर्वाचनमा आचार्यले १२ हजार ८२८ मत पाउँदा नेम्वाङले १४ हजार ९३० मत पाएका थिए ।