रास्वपाबाट धादिङ १ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिने निर्णय गरेकी छन् । पुराना दलहरुलाई मैदान खाली नगर्ने निष्कर्षमा पुगेको उनले बताइन् ।
यसअघि उनी उम्मेदवारी फिर्ता लिने मनस्थिति बनाएर काठमाडौंबाट धादिङ हानिएकी थिइन् । तर, निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि उनी उम्मेदवारी फिर्ताको प्रक्रियामा गइनन् । जिल्ला निर्वाचन अधिकृतसँग उनको छलफल भएको बुझिएको छ ।
आशिकाले उम्मेदवारी फिर्ता नलिएको बताइन् । उनले भनिन्, ‘व्यक्तिगत समस्याले गर्दा छोडौँ कि भन्ने सोचेर आएको हो । तर सबैले नछोड्न सुझाव दिनुभयो । म आफ्नो उम्मेदवारीमा कायम छु । जितेर देखाउँछु ।’
उम्मेदवारी फिर्ता लिने भनेर आफ्नो नामबाट निर्वाचन कार्यालयमा गएको इमेल फेक भएको उनले बताइन् ।