राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि सातै प्रदेशमा एकैसाथ मतदान भइरहेको हो।
कोशी प्रदेशको मतदान विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा जारी छ भने मधेश प्रदेशमा जनकपुर उपमहानगरपालिका–४ धनुषामा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भइरहेको छ।
यसैगरी, बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरस्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान चलिरहेको छ। गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा पनि मतदान भइरहेको छ।
यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताका रूपमा सहभागी छन्। राष्ट्रियसभामा रिक्त हुने पद पूर्ति गर्न भइरहेको यस निर्वाचनलाई राजनीतिक दलहरूले चासोका साथ हेरिरहेका छन्।