प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ हेर्दा यसपटकको उम्मेदवारी वितरणले नेपाली राजनीतिक दलहरूको संगठनात्मक क्षमता, रणनीतिक प्राथमिकता र जनाधारको यथार्थ चित्र प्रस्तुत गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एकमात्र दल नेपाली कांग्रेस बनेको छ। यो तथ्यले कांग्रेसको राष्ट्रिय उपस्थितिलाई मात्र होइन, उसले आफूलाई अझै पनि सबैभन्दा संगठन भएको दलका रूपमा स्थापित गर्न खोजेको देखिन्छ।
कांग्रेसपछि ठूला दलहरूबीचको प्रतिस्पर्धा पनि रोचक देखिन्छ। नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीनै दलले समान रूपमा १६४–१६४ स्थानमा उम्मेदवारी दिएका छन्। तीनै दलले एक–एक निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउनुले संगठन कमजोर भएको भन्दा पनि स्थानीय राजनीतिक समीकरण, गठबन्धन वा रणनीतिक समझदारीको परिणाम हाे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६३ स्थानमा उम्मेदवारी दिंदै आफूलाई पाँचौँ ठूलो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ। यसले राप्रपाले पनि राष्ट्रिय स्तरमै आफ्नो उपस्थिति बलियो बनाउन खोजिरहेको देखाउँछ। उता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले १३० स्थानमा उम्मेदवारी दिएर चयनात्मक प्रतिस्पर्धाको बाटो रोजेको देखिन्छ, जुन उसले आफ्ना प्रभाव क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ।
नेमकिपा (१२०), मंगोल नेशनल अर्गनाइजेसन (११३), श्रम संस्कृति पार्टी (१०९) र उज्यालो नेपाल पार्टी (१०५) जस्ता दलहरूको उल्लेखनीय उपस्थिति भने बहुदलीय प्रतिस्पर्धा अझै विविध र बहुआयामिक बन्दै गएको संकेत हो। यद्यपि यी दलहरूको उम्मेदवारी संख्या धेरै भए पनि उनीहरूको जित्ने सम्भावनामा भने प्रश्न उठ्छ नै।
यो निर्वाचनको अर्को महत्वपूर्ण पक्ष स्वतन्त्र उम्मेदवारहरूको ठूलो संख्या हो। आयोगका अनुसार १ हजार १४३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसले परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि, स्थानीय मुद्दाको प्रभाव र व्यक्तिकेन्द्रित राजनीतितर्फको झुकावलाई प्रतिबिम्बित गर्छ। स्वतन्त्र उम्मेदवारको यो लहरले ठूला दलहरूलाई पनि थप दबाबमा राख्ने निश्चित देखिन्छ।
साथै, आठ वटा दलले एक–एक जना मात्र उम्मेदवार उठाउनु, दर्जनौँ दलहरू दुईदेखि पाँच सिटमा सीमित रहनुले नेपालको दल प्रणाली अत्यन्तै खण्डित भएको वास्तविकता उजागर गर्छ। यस्ता दलहरूको उपस्थिति लोकतान्त्रिक बहुलताको संकेत भए पनि, प्रभावकारी शासन र स्थायित्वका दृष्टिले यो अवस्था चुनौतीपूर्ण देखिन्छ।
समग्रमा हेर्दा, प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी वितरणले नेपाली कांग्रेसलाई सबैभन्दा व्यापक संगठन भएको दलका रूपमा उभ्याएको छ भने अन्य दलहरूको रणनीति, सीमितता र सम्भावनाहरू पनि स्पष्ट पारेको छ। यसपटकको निर्वाचन परिणामले केवल सिट संख्या मात्र होइन, नेपाली राजनीतिमा कुन मोडेल-व्यापक संगठन, चयनात्मक प्रतिस्पर्धा कि स्वतन्त्र उम्मेदवार-प्रभावकारी ठहरिन्छ भन्ने प्रश्नको उत्तर पनि दिनेछ।