कर्णाली र लुम्बिनी प्रदेशका १३ जिल्लामा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोबबीच भएको लिखित सहमतिअनुसार रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सघाउने भएको छ । यसको बदलामा अन्य ११ जिल्लामा प्रलोपाले एमाले उम्मेदवारलाई समर्थन गर्नेछ ।
यस सहमतिले विशेषतः रुकुम पूर्व र पश्चिमको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । रुकुम पूर्वमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन् । एमालेले आफ्ना उम्मेदवार लीलामणि गौतमलाई निष्क्रिय बनाउँदै प्रलोपाका सन्दीप पुनलाई समर्थन गर्ने निर्णय गरेपछि प्रचण्डमाथि राजनीतिक दबाब बढेको विश्लेषण गरिएको छ ।
त्यस्तै रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रलोपाका संरक्षक जनार्दन शर्मा चुनावी मैदानमा छन् । एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटाको साटो शर्मा (आँखा चिह्न) लाई मतदान गर्ने सहमति गरेपछि त्यहाँको प्रतिस्पर्धा थप कसिलो बनेको छ । रुकुम पश्चिममा नेकपाका तर्फबाट गोपाल शर्मा उम्मेदवार छन् ।
१३ जिल्लामा तालमेल
सहमतिअनुसार कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिम तथा लुम्बिनी प्रदेशका रुकुम पूर्व, दाङ, रोल्पा र प्यूठानमा एमाले–प्रलोपा सहकार्य हुनेछ । रुकुमका दुई क्षेत्रबाहेक अन्य जिल्लामा प्रलोपाका उम्मेदवारले एमाले उम्मेदवारलाई सघाउनेछन् । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार हुम्ला र जुम्लाबाहेकका जिल्लामा यो सहमति इमानदारिताका साथ कार्यान्वयन गरिनेछ ।
औपचारिक सहमतिबाहेक एमाले र नेकपा (माओवादी) बीच कालीकोट र दाङमा अनौपचारिक ‘लेनदेन’ भएको चर्चा पनि राजनीतिक वृत्तमा छ । स्रोतका अनुसार कालीकोटमा एमालेले माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सघाउने र त्यसको बदलामा दाङ क्षेत्र नम्बर २ मा माओवादीले एमाले महासचिव शंकर पोखरेललाई सहयोग गर्ने समझदारी भएको बताइएको छ ।
२०७९ को निर्वाचन परिणामले रुकुममा माओवादीको पकड बलियो देखाए पनि यसपटक माओवादी पृष्ठभूमिका नेताहरू विभाजित भएर फरक दल (प्रलोपा) बाट मैदानमा उत्रिएका छन् । त्यसमाथि एमालेको समर्थन थपिएपछि रुकुमको चुनावी अंकगणित फेरबदल हुन सक्ने आँकलन गरिएको छ ।