लन्डन। तमु समुदायको सांस्कृतिक पर्व ल्होछार लन्डनमा तमु तथा गैरतमु नेपाली समुदायको संयुक्त सहभागितामा उल्लासपूर्वक मनाइएको छ।
बेक्सली नेपाली समाजले शनिबार स्थानीय फाल्कनवुड कम्युनिटी सेन्टरमा आयोजना गरेको ‘बीएनसी ल्होछार २०२६’ कार्यक्रममा मौलिक तमु संस्कृति झल्काउने नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुति गरिएको थियो। कार्यक्रममा झण्डै दुई सय सहभागीमध्ये उल्लेखनीय संख्या गैरतमु नेपालीहरूको रहेको थियो।
समाजकी अध्यक्ष विजिता गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेक्स्ली बरोका उपमेयर काउन्सिलर जेनिस वार्ड–विल्सन प्रमुख अतिथि तथा ओल्ड बेक्स्ली एन्ड सिडकप क्षेत्रका सांसद लुई फ्रेन्च विशेष अतिथि रहेका थिए। अतिथिहरूले नेपाली समुदायभित्रको विविधताबीचको एकता र स्थानीय समाजमा नेपालीहरूको भूमिकाको प्रशंसा गरे।
लामा गुरुहरूको पाठवाचन र आशिर्वादसहित सुरु भएको कार्यक्रममा नेपालबाट आएकी गायिका नीरा थापा मगर र डिजे डिनको प्रस्तुतिले सहभागीलाई मनोरञ्जन दिलाएको थियो। साथै, तमु समुदायका मौलिक भेषभूषा झल्काउने फोटो बुथ, नयाँ सदस्य स्वागत, विशेष सम्मान तथा राफल ड्र पनि आकर्षणका रूपमा रहेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, स्वयंसेवक र प्रायोजकप्रति समाजले धन्यवाद व्यक्त गरेको छ।