निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचन आयोगले आचारसंहिता उल्लंघन तथा भ्रामक सूचनामाथि निगरानी र कारबाही प्रक्रिया कडा बनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अबका दिनमा आचारसंहिता उल्लंघन र भ्रमपूर्ण सूचनाविरुद्ध आयोग सक्रिय रूपमा अघि बढ्ने बताए । उनका अनुसार सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म फैलिने भ्रामक सूचनाको निगरानी गर्दै आवश्यक निर्वाचन कारबाही गर्ने तयारी गरिएको छ ।
आयोगले विभिन्न जिल्लामा उम्मेदवारहरूसँग छलफल गरी आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने काम सुरु गरिसकेको र त्यसपछि पनि उल्लंघन गर्नेहरूलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाइएको भट्टराईले जानकारी दिए ।
यस अवधिमा सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी लगायत सबै क्षेत्रबाट आचारसंहिता पालनामा देखाइएको अग्रसरताप्रति निर्वाचन आयोग आभारी रहेको उनले बताए ।
प्रवक्ता भट्टराईका अनुसार आचारसंहिता लागू भएयता हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको छ । तीमध्ये ५ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ भने बाँकीका लागि ताकेता भइरहेको आयोगले जनाएको छ ।