म को हुँ ?

  • प्रकाशित मिति : २०८२ माघ २१, बुधबार
  • भवेश जमरकट्टेल

म म हुँ—दुःख सहेर पनि आशा नछोड्ने।
परदेशमा रहेँ पनि परिवारको भार बोक्ने।
आमाको माया जोगाउँदै, बुवाको त्यागको मान राख्ने।
जिम्मेवारीसँगै हिँडेर आफ्नै बाटो बनाउने।

म म हुँ।
दुःख भोग्ने एक यात्री पनि म नै हुँ,
सुखमा रमाउन खोज्ने मन पनि ममै छ।



आत्मीयता गाँस्न अग्रसर हुने पनि म नै हुँ,
सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने विश्वास बोकेको पनि म नै हुँ।

आमा–बुवाको आशा बोकेर अगाडि बढ्ने पनि म नै हुँ,
समयको चाल बुझ्दै अघि बढ्न सिक्ने पनि म नै हुँ।

अरूलाई दुःख पर्दा हिम्मत दिने हात पनि म नै हुँ,
परदेशमा बसेर परिवार सम्हाल्ने जिम्मेवार पनि म नै हुँ।

वृद्ध भएका हजुरबा–हजुरआमालाई भरोसा दिलाउने पनि म नै हुँ,
नयाँ सोच र उर्जासहित अघि बढ्न खोज्ने पनि म नै हुँ।

आमाको माया र बुवाको त्याग जोगाएर राख्ने पनि म नै हुँ,
परिवारमा नयाँ भाउजू आए सम्मान गर्न जान्ने पनि म नै हुँ।

परदेशमा रहेर पनि देशको चिन्ता लिने मन पनि ममै छ,
तर “म सक्छु” भन्ने हौसला दिने ती सबै अस्तित्वलाई नमन गर्छु।

नयाँ संस्कारमा रमाउँदै अगाडि सर्न खोज्ने पनि म नै हुँ,
सबैलाई बुझ्नुपर्छ भन्ने चेतना राख्ने पनि म नै हुँ।

माया, प्रेम, स्नेह र प्रेरणा बाँड्न खोज्ने पनि म नै हुँ,
आमालाई “चाँडै आउँछु” भनी हौसला दिने छोरा पनि म नै हुँ।

पढाइपछि केही गरेर देखाउने लक्ष्य बोकेको पनि म नै हुँ,
जिम्मेवारीलाई अग्रसर रूपमा सम्हाल्दै जानुपर्छ भन्ने बुझेको पनि म नै हुँ।

आमाको स्नेह र प्रेम जोगाउने सन्तान पनि म नै हुँ,
बुवाको शिर उँचो हुने काम गर्ने सन्तति पनि म नै हुँ।