जन्ती बस दुर्घटना : सवारी धनी र समितिले चासो नराखेको भन्दै सडक अवरुद्ध

  • प्रकाशित मिति : २०८२ माघ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

बिहीबार राति बैतडी पुर्चौँडी नगरपालिका- ७ बडगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।

दुर्घटनाको झन्डै २० घण्टा पुगिसक्दा पनि सवारी धनी र यातायात समितिका प्रतिनिधिहरूले घटनामा चासो नराखेको भन्दै बझाङमा सडक अवरुद्ध गरिएको छ ।



वित्थडचिर गाउँपालिकाको देउलेखमा मृतकका तथा घाइतेका आफन्त तथा परिवारका सदस्यहरूले सडक अवरुद्ध गरेका हुन् ।

‘हिजो राति ७ बजे घटना भएको छ अहिलेसम्म गाडी साहु आउनु पर्दैन, समिति आउनु पर्दैन ? अरू बेला समितिले कुराकानी गरिरहेको हुन्छ अहिले खै आएको?’ मृतकका आफन्त वीर बहादुर बोहराले भने ‘हिजो रातभरि हामीले शव कुरेको जस्तै आज रातभरि हामी सडक अवरुद्ध गर्छौ । समितिका प्रतिनिधि नआएसम्म सडक खोल्दैनौँ ।’

पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् भने तीन दर्जन बढी घाइते छन् ।

मृतक र घाइतेका आफन्त तथा परिवारका सदस्यहरूले यस्तो बेला पनि समिति गम्भीर नभएको, घटनास्थलमा नपुगेको आरोप लगाइरहेका छन् । उनीहरूले मुख्य सडकको बिच भागमा आगो बालेर सडक अवरुद्ध गरेका छन् ।