लन्डन—लन्डन हिथ्रो विमानस्थलको टर्मिनल फोर नजिक साउदर्न पेरिमिटर रोडमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा ४० वर्षीय नेपाली युवक रोशन अधिकारीको मृत्यु भएको छ।
बिहान करिब ८ बजे अधिकारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको ब्यारियरमा ठोक्किँदा दुर्घटना भएको हो। घटनास्थलमा पुगेको एम्बुलेन्स प्यारामेडिक टोलीले उद्धार प्रयास गरे पनि उनलाई बचाउन नसकी घटनास्थलमै मृत घोषणा गरिएको थियो।
काममा जाने क्रममा दुर्घटनामा परेका अधिकारी लन्डनको फेल्थाममा परिवारसँग बस्दै आएका थिए। उनको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी छन्। उनका बाबुआमा नेपालमै छन्। काठमाडौं कलंकी स्थायी घर भएका अधिकारी पछिल्लो १२ वर्षदेखि बेलायतमा बस्दै आएका थिए।
परिवारिक स्रोतका अनुसार स्वर्गीय अधिकारीको अन्त्येष्टि यही फेब्रुअरी १६ मा लन्डन फेल्थाममै गरिनेछ।