पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने, १० लाखसम्मको आम्दानीमा कर नलगाउने कांग्रेसको घोषणा

  • प्रकाशित मिति : २०८२ फाल्गुन ७, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन् ।

कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए ।



उनले यत्तिकै पाँच हजार रोजगारी नभइ कृषि, पर्यटन, भौतिक पुर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सृजना गर्ने संकल्प लिएको बताए ।

उनले भने, ‘१५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।’ उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सृजनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गरे ।

यस्तै, सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाए । ‘विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सृजना बनाउन सकिन्छ भन्ने कुरा योजना तयार पारेका छौँ ।’ उनले भने ।

त्यस्तै, यदि कांग्रेसको आफ्नो सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ ।

नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको उनले बताए । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा उनले गरे ।

अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा थापाले गरे । संस्थागत सीमा २० प्रतिशतमा झार्ने उनले बताए । अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने योजना रहेको उनले सुनाए ।