नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आसन्न निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मत दिन आग्रह गरेका छन्।
कांग्रेसका निर्वाचन परिचालन समितिका संयोजक शर्माले मातृभूमि बाहिर रहेर पनि देशप्रति गहिरो माया र जिम्मेवारी बोकेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै चुनावी सन्दर्भमा भावनात्मक अपिल गरेका हुन्।
प्राकृतिक विपत्ति, भूकम्प, द्वन्द्व तथा कोभिड–१९ जस्ता संकटका बेला प्रवासी नेपालीहरूले देशका लागि पुर्याएको साथ र सहयोगको स्मरण गर्दै अबको निर्वाचनमा पनि जिम्मेवार निर्णय लिन आग्रह गरेका छन्।
विदेशमै रहेर मत दिन चाहनेहरूको चाहनालाई सम्बोधन गर्दै सर्वोच्च अदालतको परमादेशअनुसार विदेशबाट मतदानको अधिकार सुनिश्चित गरिनुपर्ने विषयलाई नेपाली कांग्रेसले प्रतिबद्धताका साथ उठाएको उनको भनाइ छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नीतिगत र नेतृत्वगत रूपान्तरण सुरु भइसकेको दाबी गरे। उनले भने, ‘परिवर्तनको सुरुवात कांग्रेसले गरिसकेको छ नयाँ पुस्ता ले खोजेको राजनीतिक र प्रशासनिक सुधारलाई सम्बोधन गर्ने अभियान अघि बढाइएको छ।
कांग्रेसले प्रवासी नेपालीसँग सहकार्य गर्न अवधारणा अघि सारिएको उल्लेख गर्दै उनले ठुला पूर्वाधार आयोजनामा प्रवासी नेपालीको लगानी र सहभागिता सुनिश्चित गर्ने योजना रहेको बताएका छन्। १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना जस्ता परियोजनामा सरकारी, निजी तथा डायस्पोरा साझेदारीमार्फत लगानी जुटाइने उनको भनाइ छ।
विदेशमा रहेका नेपालीलाई चुपचाप मत दिनु नभई प्रश्न गर्न, स्पष्ट हुन र त्यसपछि मात्रै निर्णय लिन आग्रह गरेका छन्।
उनले थपेका छन्, ‘हामी पुरानो थियौँ कांग्रेस भनिरहँदै गर्दा तपाईँका मनहरू कति कारणले दुखे होला, कांग्रेससँगका तपाईँका प्रश्नहरू होलान्, कांग्रेससँगका तपाईँका असन्तुष्टिहरू होलान्, त्यसैले कांग्रेस तपाईँलाई चुपचाप रुखमा छाप भन्दैन। चुपचाप फलानो चिह्नमा छाप भन्नु भनेको प्रश्न नगर भन्नु हो। तर हामी भन्छौँ, चुपचाप होइन, प्रश्न गर्नुस्। प्रश्न पछाडि स्पष्ट बन्नुस्, र स्पष्ट भएपछि अनि बल्ल मत दिनुस्।’