यूकेको अल्डरसटमा लायन डान्सको रौनक

  • प्रकाशित मिति : २०८२ फाल्गुन १८, सोमबार
  • नेपाल टेल संवाददाता

अल्डरसट । यूकेको अल्डरसट टाउन सेन्टरमा आयोजित ‘लायन डान्स’ कार्यक्रमले स्थानीय क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपेको छ।

अल्डरसटमा रहेको ‘चाइना ओरिएन्टल सुपरमार्केट’ (CHINA Oriental Supermarket) ले आफ्नै लगानी र व्यवस्थापनमा सहरको चहलपहल बढाउने र स्थानीय व्यापारलाई टेवा पुर्‍याउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको हो।



कार्यक्रमको प्रभाव स्वरूप अल्डरसटको युनियन स्ट्रिट र वेलिंग्टन स्ट्रिटमा मानिसहरूको निकै बाक्लो उपस्थिति देखिएको थियो। यसले टाउन सेन्टरको वातावरणलाई उल्लासमय बनाउनुका साथै त्यहाँका स्वतन्त्र व्यवसायहरूको व्यापारमा समेत वृद्धि भएको छ।

विशेषगरी बाटो हिँड्ने ग्राहकहरूमा निर्भर रहने साना व्यवसायहरूका लागि यो कार्यक्रम निकै फलदायी सावित भयो।

टाउन सेन्टरमा मानिसहरूलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा यसपटकको डान्सले पुष्टि गरेको छ।