रास्वपाले जितेका १२५ मध्ये ७३ ठाउँमा कांग्रेस निकटतम, बाँकी कसको कुन अवस्था ?

  • प्रकाशित मिति : २०८२ फाल्गुन २६, मंगलवार
  • नेपाल टेल संवाददाता

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १६५ जना निर्वाचित भइसकेका छन् ।

निर्वाचितमध्ये सबैभन्दा धेरै रास्वपाका १२५ जना छन् भने दोस्रोमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ७, श्रम संस्कृति पार्टीका ३ तथा राप्रपा र स्वतन्त्रका एकएक जना छन् ।



१६५ क्षेत्रमा निर्वाचित सांसदका निकटतम प्रतिस्पर्धी पनि १६५ जना नै रहेका छन् । त्यस्ता निकटतम प्रतिस्पर्धी उम्मेदवार कुन पार्टीका कति बने र उनीहरूले कति मत ल्याए ? उनीहरूले पाएको मतसहित पाठकहरूका लागि प्रस्तुत गरेका छौँ ।

रास्वपाका निकटतम प्रतिस्पर्धी

झापा निर्वाचन क्षेत्र–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बनेका छन् । उक्त क्षेत्रबाट शाह ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा एमालेका ओली १८ हजार ७३४ मत पाउँदै उपविजेतामा सीमित बनेका हुन् । झापा–२ मा रास्वपाकै इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकै देवराज घिमिरेले ११ हजार ३६८ मत मात्र पाए । चितवन ३ मा रास्वपाकी सोविता गौतम ५९ हजार २७७ मत ल्याउँदै विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मतमात्र ल्याउन सकिन् ।

रुपन्देही ३ मा ५८ हजार ८१४ मतसहित रास्वपाका डा। लेखजंग थापा निर्वाचित बन्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङ ८ हजार ४३५ मतसहित दोस्रो बनेका छन् भने चितवन १ मा रास्वपाका हरि ढकाल ५८ हजार २०८ मतसहित विजयी बन्दा कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी १३ हजार ३३ मतसहित उपविजेता बने ।

सुनसरी २ मा रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मतसहित निर्वाचित बन्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीव कोइराला १६ हजार ७१ मतमा चित्त बुझाउन बाध्य भए । रुपन्देही २ मा रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मतसहित निर्वाचित बन्दा एमालेका विष्णु पौडेल १२ हजार ८६१ मतसहित निकटतम प्रतिस्पर्धी रहे । मोरङ ६ मा रास्वपाका रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइराला १२ हजार ८५० मतसहित निकटतम प्रतिस्पर्धी बने । त्यस्तै रुपन्देही १ मा रास्वपाका सुनिल लम्साल ५४ हजार ८४५ मत पाएर निर्वाचित बन्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकै हिराबहादुर खत्रीले ११ हजार ९८२ मतमात्र पाए । चितवन २ मा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेले ५४ हजार ४०२ मत पाएर विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत पाइन् ।

काभ्रे २ मा रास्वपाका बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित निर्वाचित हुँदा कांग्रेसका मधुप्रसाद आचार्य १७ हजार ८६८ मत ल्याएर निकटतम प्रतिस्पर्धी देखिएका छन् । नवलपुर १ मा रास्वपाका राजन गौतम ५० हजार ९४५ मत ल्याएर निर्वाचित बन्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतमा सीमित रहे । बर्दिया १ मा रास्वपाका ठाकुरसिंह थारु ४९ हजार ६३० मतसहित विजयी बन्दा एमालेका शालिकराम अधिकारी १४ हजार ६४३ मत ल्याएर निकटतम प्रतिस्पर्धी बने । धनुषा ४ मा रास्वपाका राजकिशोर महतो ४८ हजार २७० मत ल्याएर निर्वाचित बन्दा कांग्रेसका महेन्द्र यादव १५ हजार ८०८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी बन्न पुगे ।

सुनसरी ३ मा रास्वपाका अशोककुमार चौधरी ४७ हजार ४२१ मत ल्याएर पहिलो बन्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदार २० हजार ५०१ मतमा सीमित बने । सर्लाही ३ मा नरेन्द्र साह कलवार ४६ हजार ८९० मतसहित निर्वाचित बन्दा नेकपाका नारायणकाजी श्रेष्ठ १३ हजार ३३८ मतसहित निकटतम प्रतिस्पर्धीका रूपमा देखिए । झापा १ मा रास्वपाका निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित बन्दा कांग्रेसका केशवराज पाण्डे १० हजार ५५० मतसहित दोस्रो बनेका छन् ।

नवलपरासी २ मा रास्वपाका नरेन्द्रकुमार गुप्ता ४५ हजार २४१ मतसहित संसदमा प्रतिनिधित्व गर्न पुग्दा कांग्रेसका भीमबहादुर थापा क्षेत्री १५ हजार ९४५ मतसहित निकटतम प्रतिस्पर्धी बन्दा नवलपरासी १ मा रास्वपाकै विक्रम खनाल ४५ हजार २४१ मतसहित निर्वाचित बन्दा कांग्रेसका विनोद चौधरी ९ हजार ५०२ मतसहित निकटतम प्रतिस्पर्धी बने ।

दाङ ३ मा रास्वपाका कमल सुवेदी ४४ हजार २४८ मतसहित निर्वाचित बन्दा कांग्रेसका दीपक गिरी १६ हजार ४५३ मतसहित दोस्रो स्थानमा सीमित रहे भने सर्लाही १ मा रास्वपाकै नीतिमा भण्डारी (कार्की) ४४ हजार १८१ मतसहित निर्वाचित बन्दा कांग्रेसका शम्भुलाल श्रेष्ठ ७ हजार ८७१ मतसहित निकटतम मत ल्याउने उम्मेदवार बन्न पुगेका छन् । धनुषा ३ मा रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित निर्वाचित बन्दा कांग्रेसका विमलेन्द्र निधी १६ हजार ६५२ मतसहित उपविजेता बनेका छन् भने दाङ २ मा रास्वपाका विपिन आचार्य ४३ हजार ८२२ मत ल्याउँदै निर्वाचित बन्दा एमालेका शंकर पोखरेल १५ हजार ५५८ मतसहित निकटतम प्रतिस्पर्धीमा सीमित बनेका छन् ।

यस्तै झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित निर्वाचित बन्दा एमालेका लालप्रसाद साँवा लिम्बु ११ हजार ९८६ मतसहित निकटतम प्रतिस्पर्धी बनिन् । ललितपुर ३ मा रास्वपाकी तोसीमा कार्की ४३ हजार ९६ मतसहित निर्वाचित बन्दा कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ ९ हजार ४५ मतसहित निकटतम प्रतिस्पर्धी बने । सुनसरी ४ मा रास्वपाका दीपककुमार साह ४२ हजार ७७१ मतसहित निर्वाचित बन्दा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की १६ हजार ५८७ मतसहित उपविजेता बने । दाङ १ मा देवराज पाठक ४२ हजार ६०२ मतसहित निर्वाचित हुँदा कांग्रेसका योगेन्द्र चौधरी १५ हजार २८० मत ल्याउँदै दोस्रो स्थान कायम गर्ने उम्मेदवार बन्न सफल भए । सर्लाही २ मा रविन महतो ४२ हजार ५१२ मतसहित निर्वाचित हुँदा नेकपाका महिन्द्र राय ८ हजार ५२३ मतसहित उपविजेता बनेका छन् ।

उता भक्तपुर २ मा रास्वपाका राजीव खत्री ४२ हजार ३३४ मतसहित निर्वाचित बन्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ९६६ मत ल्याए । धनुषा २ मा रास्वपाका रामविनोद यादव ४१ हजार ६३७ मतसहित निर्वाचित बन्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका दिनेशप्रसाद यादव परसैला १० हजार १९८ मतमा सीमित रहे । नवलपुर २ मा रास्वपाका मनिष खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित बन्दा एमालेका तिलबहादुर महत क्षेत्री १५ हजार ७५५ मतसहित निकटतम प्रतिस्पर्धी बने । सिराहा १ मा रास्वपाका बब्लु गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित बन्दा कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७४४ मतमा सीमित बने ।

बारा ४ मा रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित बन्दा एमालेका कृष्णकुमार श्रेष्ठ ११ हजार ६३९ मतसहित उपविजेता बने । मोरङ २ मा कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित निर्वाचित बन्दा एमालेका दिलिपकुमार अग्रवाल १५ हजार ६२४ मतसहित निकटतम प्रतिस्पर्धी बनेका छन् ।

मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित निर्वाचित बन्दा कांग्रेसका गुरुराज घिमिरे १२ हजार ८१८ मतसहित निकटतम प्रतिस्पर्धी बन्न सफल भए । बारा ३ मा रास्वपाका अरविन्द साह ४० हजार ६९७ मतसहित निर्वाचित बन्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका फरमुल्लाह मन्सुर १० हजार ५२ मतमा पूर्णविराम लगाए । बारा १ मा रास्वपाका गणेश धिमाल ३९ हजार ९९८ मतसहित विजयी बन्दा कांग्रेसका शम्भुबहादुर बुढाथोकी १४ हजार २२३ मतसहित उपविजेता बने ।

कास्की १ मा रास्वपाका खड्कराज पौडेल ३९ हजार ८८३ मतसहित निर्वाचित बन्दा कांग्रेसका तिलकबहादुर रानाभाट ११ हजार १२४ मतसहित निकटतम प्रतिस्पर्धी बने । सिराहा २ मा रास्वपाका शिवशंकर यादव ३९ हजार ५६१ मतसहित निर्वाचित बन्दा कांग्रेसका रामचन्द्र यादव ७ हजार ४२० मतसहित निकटतम प्रतिस्पर्धी बने । ललितपुर २ मा रास्वपाका जगदिश खरेल ३९ हजार ४९१ मत ल्याउँदै विजयी बन्दा कांग्रेसका प्रेमकृष्ण महर्जन ७ हजार ४२० मतसहित उपविजेतामा सीमित रहे ।

धादिङ १ मा रास्वपाका आशिका तामाङ ३९ हजार १२८ मतसहित निर्वाचित बन्दा एमालेका भुमि त्रिपाठी १५ हजार ३२ मतमात्र पाएर उपविजेता बने । रुपन्देही ५ मा रास्वपाका तौफिकअहमद खान ३८ हजार ८०६ मतसहित विजयी बन्दा एमालेका खिमलाल भट्टराई १३ हजार १०० मतसहित निकटतम प्रतिस्पर्धी बने ।

झापा ३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी बन्दा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन १७ हजार २९४ मतसहित निकटतम प्रतिस्पर्धी बन्न सफल बने । सप्तरी १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मतसहित विजयी बन्दा स्वाभिमान पार्टीका सुमितकुमार ७ हजार ८४७ मतसहित निकटतम प्रतिस्पर्धी बने ।

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले ३८ हजार ४० मतसहित विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराई १६ हजार २३१ मतसहित उपविजेतामा सीमित रहे । त्यसैगरी कास्की ३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मतमात्र ल्याउन सफल भए ।

काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट ३७ हजार ४६९ मत पाएर विजयी बन्दा कांग्रेसका हिमाल कार्की ८ हजार १०० मत ल्याउँदै प्रतिस्पर्धी बने । मोरङ ३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतसहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका सुनिलकुमार शर्मा २४ हजार ३५४ मतसहित उपविजेता बने ।

यस्तै, रौतहट ४ मा रास्वपाका गणेश पौडेल ३६ हजार ८७६ मतसहित विजयी बन्दा कांग्रेसका देवप्रसाद तिमल्सिना १५ हजार ८६५ मत पाएर उपविजेतामा सीमित रहे । सप्तरी ४ मा रास्वपाका सीताराम साह ३६ हजार ४१२ मतसहित विजयी बन्दा कांग्रेसका तेजुलाल चौधरी १३ हजार १०३ मतसहित निकटतम प्रतिस्पर्धी बन्न पुगे ।

यसैगरी सिराहा ४ मा रास्वपाका तपेश्वर यादव ३६ हजार २१० मतसहित विजयी बन्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजयशंकर नायक ७ हजार ९७२ मत ल्याएर निकटतम प्रतिस्पर्धीका रूपमा देखिए । मकवानपुर १ मा रास्वपाका प्रकाश गौतम ३६ हजार ३३ मत ल्याउँदै विजयी बन्दा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ १४ हजार ३८ मत ल्याउँदै उपविजेता बनिन् ।

सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी बन्दा कांग्रेसका सभापति समेत रहेका गगनकुमार थापा मात्र २२ हजार ८३१ मतमा सीमित बने । बारा २ मा रास्वपाका चन्दनकुमार सिंह ३५ हजार ५९० मतसहित विजयी बन्दा जसपा नेपालका रामकिशोरप्रसाद यादव १४ हजार १९६ मतसहित निकटतम प्रतिस्पर्धी बने ।

काठमाडौं ९ मा रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोला ५ हजार ४६० मतमा सीमित बनिन् । अर्घाखाँची १ मा रास्वपाका हरिप्रसाद भुसाल ३५ हजार २३ मतसहित विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका पीताम्बर भुसालले २२ हजार ६४९ मतमात्र पाए । महोत्तरी १ मा रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मत पाएर निर्वाचित बन्दा निकटतम प्रतिस्पर्धी नेकपाका गिरिराजमणि पोखरेल १२ हजार ६२४ मतमा सीमित बने ।

काठमाडौँ २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी बन्दा नेपाली कांग्रेसका कवीर शर्मा ८ हजार ८७७ मतसहित उपविजेतामा सीमित रहे । यस्तै कपिलबस्तु १ मा रास्वपाका मोहनलाल आचार्य ३४ हजार १४८ मतसहित विजयी बन्दा स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८६० मतसहित उपविजेता बने । शर्मा कांग्रेस नेता दीपकुमार उपाध्यायका छोरा हुन् । कञ्चनपुर २ मा रास्वपाका दीपकराज बोहरा ३३ हजार ९५२ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत ल्याएर उपविजेता बन्न सफल भए ।

लमजुङ १ मा रास्वपाका धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी बन्दा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ १६ हजार ८७६ मतसहित उपविजेतामा सीमित बने । भक्तपुर १ मा रास्वपाका रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी बन्दा नेमकिपाका प्रेम सुवाल २८ हजार १४७ मतसहित निकटतम प्रतिस्पर्धी बन्न पुगे ।

उता सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी ३२ हजार ८७५ मतसहित विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका उपेन्द्र यादव १५ हजार २४१ मत ल्याएर उपविजेता बने । बाँके १ मा रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मतसहित विजयी बन्दा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल १५ हजार ३०१ मतमा सीमित बने । महोत्तरी २ मा रास्वपाका दीपककुमार साह ३२ हजार ७२२ मतसहित विजयी बन्दा जसपा नेपालका शरत सिंह भण्डारी १० हजार १९८ मत ल्याएर उपविजेता बनेका छन् ।

तनहुँ २ मा रास्वपाका श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी बन्दा कांग्रेसका शंकर भण्डारी १४ हजार १३५ मतपाएर निकटतम प्रतिस्पर्धी बनेका छन् । महोत्तरी ३ रास्वपाका उज्ज्वलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी बन्दा नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवान ५ हजार ९६९ मतसहित उपविजेता बने ।

दोलखामा रास्वपाका जगदीश खरेल ३२ हजार ३७६ मतसहित विजयी बन्दा एमालेका पार्वत गुरुङ १७ हजार ४४९ मत ल्याएर उपविजेताको स्थान बनाए । सिराहा ३ मा रास्वपाका शम्भुकुमार यादव ३२ हजार २४९ मतसहित विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठले १० हजार १५६ मतमा सीमित बने ।

नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने ३२ हजार ५४ मतसहित विजेता बन्दा उपविजेता कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५०३ मत पाए । कैलाली ५ मा आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी बन्दा कांग्रेसका नरनारायण शाह ११ हजार ९५८ मतसहित निकटतम प्रतिस्पर्धी बने । कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी बन्दा एमालेका रश्मी आचार्य ७ हजार ४९३ ल्याउँदै निकटतम प्रतिस्पर्धी बने ।

सुर्खेत २ मा रमेशकुमार सापकोटा ३० हजार ८२६ मतसहित विजयी बन्दा कांग्रेसका नारायणकुमार कोइराला १६ हजार ३९२ मत पाउँदै उपविजेता बनेका छन् । पर्सा २ मा सुशीलकुमार कानु ३० हजार ७३९ मतसहित विजयी बन्दा कांग्रेसका अजयकुमार चौरसिया ११ हजार ८८९ मतसहित निकटतम प्रतिस्पर्धीमा सीमित रहे । काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी बन्दा एमालेका ईश्वर पोखरेल ९ हजार १५९ मत ल्याएर निकटतम प्रतिस्पर्धी बने ।

उदयपुर १ मा रास्वपाका पारशमणि गेलाल ३० हजार ५९० मतसहित विजयी बन्दा श्रम संस्कृति पार्टीका राजेशकुमार राई ११ हजार ६०६ मतसहित उपविजेता बनेका छन् । मोरङ ५ मा रास्वपाका आशा झा ३० हजार ४३४ मतसहित विजयी बन्दा कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मतसहित दोस्रो बनेका छन् । महोत्तरी ४ मा रास्वपाका गौरी कुमारी ३० हजार १३२ मतसहित पहिलो बन्दा जसपाका सुरेन्द्रकुमार यादवले ८ हजार ७४४ मतमात्र ल्याए । मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेती ३० हजार ५० मतसहित विजयी बन्दा एमालेका महेशकुमार बर्तौलाले निकटतम प्रतिस्पर्धीका रूपमा १८ हजार ८४६ मत पाए ।

गोरखा १ मा रास्वपाका सुधन गुरुङ २९ हजार ८९६ मतसहित विजयी बन्दा निकटतम कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत मात्र पाए । पर्सा ३ मा रास्वपाका रामाकान्तप्रसाद चौरसिया २९ हजार ६७९ मत ल्याउँदै विजयी बन्दा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी १६ हजार ३६६ मतसहित निकट प्रतिस्पर्धी बने ।

बर्दिया २ मा रास्वपाका श्रीधर पोख्रेल २९ हजार ६७८ मतसहित विजयी बन्दा कांग्रेसका किशोरसिंह राठोरले २० हजार ४०२ मत प्राप्त गरे । गुल्मी १ मा रास्वपाका सागर ढकाल २९ हजार ६४२ मतसहित विजयी बन्दा एमालेका प्रदीपकुमार ज्ञवाली १५ हजार १८१ मत ल्याएर उपविजेता बनेका छन् ।

त्यसैगरी काभ्रे १ मा रास्वपाका मधुकुमार चौलागाई २९ हजार ६१८ मतले विजयी बन्दा कांग्रेसकै गुणराज मुक्तान १९ हजार १६६ मतमा सीमित बने । बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार २९ हजार ५५१ मतले विजयी बन्दा एमालेका सुमन मल्ल १९ हजार ६१५ मतमा सीमित बन्दै निकटतम प्रतिस्पर्धी रहे ।

रास्वपाकै पुकार बम काठमाडौं ४ मा २९ हजार १४२ मत पाएर विजयी बन्दा कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मतमात्र पाएर उनको निकट प्रतिस्पर्धी बने । स्याङ्जामा रास्वपाका धनञ्जय रेग्मी २९ हजार ७१ मतसहित विजयी बन्दा कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत मात्र पाएर दोस्रो स्थान बनाए । रौतहट १ मा राजेशकुमार चौधरी २८ हजार ९४६ मत पाएर पहिलो बन्दा एमालेका अजयकुमार गुप्ता १० हजार ६९३ मतमा चित्त बुझाउन बाध्य बने ।

कैलाली ४ मा खेमराज कोइराला २८ हजार ५५६ मतसहित विजयी बन्दा नेपाली कांग्रेसका गोरखबहादुर विष्ट ११ हजार ३०१ मत ल्याएर दोस्रो बनेका छन् । सप्तरी २ मा रामजी यादव २८ हजार ४०४ मत पाएर पहिलो बन्दा उनका निकटतम जसपा नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मतमा चित्त बुझाउन बाध्य भए ।

उता रुपन्देही ४ मा कन्हैया बनियाँ २८ हजार ६६ मतले विजयी बन्दा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत मात्र पाए भने टेकबहादुर शाक्य पर्सा ४ मा २८ हजार ६ मतले विजयी बन्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत पाए । काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी बन्दा कांग्रेसका प्रमोदहरि गुरागाईले ३ हजार ९८२ मत पाए ।

काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७११ मतसहित विजयी बन्दा कांग्रेसका कृष्ण बानियाँ क्षेत्री ६ हजार ६५१ मतमा चित्त बुझाउन बाध्य भए । त्यस्तै कपिलवस्तु २ मा विक्रम थापा २७ हजार ६३५ मतसहित विजयी बन्दा कांग्रेसका सुरेन्द्रराज आचार्य २१ हजार ५२७ मतसहित निकटतम प्रतिस्पर्धी बने ।

प्युठानमा रास्वपाका सुशान्त वैदिक २७ हजार ४६९ मतले विजयी बन्दा कांग्रेसका गोविन्दराज पोखरेल १८ हजार ३३८ मत ल्याएर निकटतम प्रतिस्पर्धी बने । मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित विजयी बन्दा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामा १७ हजार ५२२ मतसहित दोस्रो बनिन् ।

रौतहट ३ रवीन्द्र पटेल २७ हजार ३१८ मतसहित विजयी बन्दा जसपा नेपालका गोविन्द चौधरी ११ हजार ९५४ मतसहित दोस्रो बने । पर्सा १ मा बुद्धिप्रसाद पन्त (हरि) २७ हजार २७३ मतसहित विजयी बन्दा एमालेका प्रदीप यादव १३ हजार ३० मतमा सीमित बने ।

कञ्चनपुर ३ मा २७ हजार ११८ मतसहित रास्वपाका ज्ञानेन्द्र सिंह महता विजयी बन्दा कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४४३ मत पाएर निकटता बनाए । पाल्पा २ मा रास्वपाका माधवबहादुर थापा २६ हजार ७३६ मतसहित विजयी बन्दा कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत पाएर दोस्रो बने । गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी २६ हजार ६६० मतसहित पहिलो बन्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार ७ सय मत ल्याएर निकटतम प्रतिस्पर्धी देखिए ।

सागर भुसाल पर्वतमा २६ हजार ५६१ मतसहित विजयी बन्दा कांग्रेसका अर्जुनप्रसाद जोशी १५ हजार ९५४ मतमा चित्त बुझाउन बाध्य भए । रास्वपाकै बोधनारायण श्रेष्ठ धादिङ २ मा २६ हजार १४५ मत ल्याएर विजयी बन्दा कांग्रेसका रमेशप्रसाद धमला २० हजार २७९ मतमा अड्किन पुगे ।

स्याङ्जा २ मा झविलाल डुम्रे २५ हजार ३५४ मतसहित विजयी बन्दा कांग्रेसका भागवतप्रकाश मल्ल २० हजार ८३० मतमै रोकिए । रामेछापमा कृष्णहरि बुढाथोकी २४ हजार ८०८ मतसहित विजयी बन्दा एमालेका माधवप्रसाद ढुंगेल १७ हजार ६०९ मत पाएर निकटतम प्रतिस्पर्धी बने ।

काठमाडौं ८ मा विरामभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी बन्दा नेकपाका सुमन सायमीले मात्र ३ हजार २१७ मत पाएर निकट प्रतिस्पर्धी बने । सिन्धुपाल्चोक १ मा रास्वपाक भरतप्रसाद पराजुली २४ हजार ४१२ मतसहित विजयी हुँदा नेकपाका माधव सापकोटा १७ हजार ३२७ मतसहित दोस्रो बने । जनक सिंह धामी कञ्चनपुर १ बाट २४ हजार ३३२ मतसहित विजयी बन्दा नेकपाकी बीना मगरले ११ हजार ११० मत मात्र प्राप्त गरिन् ।

ललितपुर १ मा बुद्धरत्न महर्जन २३ हजार ३७३ मतसहित विजयी बन्दा कांग्रेसका उदयशमशेर जबरा १३ हजार ५२० मतसहित दोस्रो बने । नुवाकोट १ मा रास्वपाका विक्रम तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी बन्दा कांग्रेसका प्रकाशशरण महत १८ हजार ५९७ मत पाएर दोस्रो बने । बैतडीमा हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर पहिलो बन्दा कांग्रेसका चतुरबहादुर चन्द १८ हजार १९४ मत ल्याएर निकटतम प्रतिस्पर्धी बन्न पुगे ।

बाग्लुङ १ मा रास्वपाका सुशील खड्का २० हजार ९२७ मतसहित विजयी बन्दा कांग्रेसकै भीमबहादुर श्रीस राना ११ हजार ९४४ मतमा सीमित हुन पुगे । कैलाली ३ मा जगतप्रसाद जोशी २० हजार ३५९ मतसहित विजयी बन्दा नेकपाका वीरमान चौधरी ११ हजार ९८३ मत पाएर उपविजेता बने ।

डडेलधुरामा रास्वपाका ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजेता बन्दा कांग्रेसका नैन सिंह महरले मात्र १२ हजार १२१ मत पाए । कैलाली २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतले विजयी बन्दा नाउपा नेपालका पतिराम चौधरी ११ हजार ९४९ मत ल्याएर दोस्रो बने । काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतले विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ११ हजार १७१ मतसहित दोस्रो बन्न पुगे ।

सिन्धुली २ मा रास्वपाका आशिष गजुरेल १७ हजार ९४० मतमा विजयी बन्दा नेकपाका लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत ल्याएर उपविजेतामा सीमित रहे । त्यसैगरी कैलाली १ मा कोमल ज्ञवाली १७ हजार ८२६ मत पाएर विजयी बन्दा कांग्रेसका जनकराज चौधरी १२ हजार ८६७ मतसहित दोस्रो बने ।

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी १६ हजार ९६७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका उपाध्यक्ष समेत रहेका गोकर्णराज विष्टले १६ हजार ४०६ मतमा चित्त बुझाए । सिन्धुली १ मा धनेन्द्र कार्की १६ हजार ६५९ मत पाएर विजयी बन्दा एमालेका प्रदीपकुमार कटुवाल क्षेत्री (केसी) ले १५ हजार ८७५ मतमात्र पाए । काठमाडौं १ मा रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी बन्दा कांग्रेसका प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतमा सीमित रहे ।

यस्तै उदयपुर २ मा रास्वपाका सूर्यबहादुर तामाङ्ग १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत पाएर निकटतम प्रतिस्पर्धीको हैसियतमा पुगे भने विश्वराज पोखरेल ओखलढुंगामा १३ हजार ९५३ मतले विजयी बन्दा कांग्रेसका कुमार लुइँटेल पोखरेलको भन्दा ५ मत कम १३ हजार ९४८ मतसहित निकटतम प्रतिस्पर्धी बन्न बाध्य भए ।

उता, बाग्लुङ २ मा सोम शर्मा १२ हजार ६४७ मतले विजयी बन्दा कांग्रेसकै टेकराज पौडेल ११ हजार ८६८ मतसहित उपविजेतामा सीमित रहे ।

नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी

नेपाली कांग्रेसका उम्मेदवार मो। फिरदोश आलमले रौतहट २ बाट २९ हजार ५२८ मत ल्याएर विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साह १८ हजार ४४२ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने । यसैगरी सुर्खेत १ मा कांग्रेसका विष्णुबहादुर खड्का २६ हजार ८९७ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार ध्रुवकुमार शाही १८ हजार ८९० मत ल्याएर उपविजेता बने । कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह २३ हजार ५३५ मतसहित विजयी हुँदा रास्वपाका प्रकाश रजौरिया १८ हजार ८९० मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

जाजरकोटमा कांग्रेस उम्मेदवार खड्कबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुँदा नेकपाका शक्तिबहादुर बस्नेत १७ हजार ४०७ मतसहित दोस्रो भए । भने पाल्पा १ मा कांग्रेसका सन्दीप राना १८ हजार ३३६ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार नारायणप्रसाद आचार्य १६ हजार ८१९ मत ल्याएर दोस्रोमा चित्त बुझाए ।

पाँचथरमा कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङ १७ हजार २३३ मतसहित विजयी हुँदा श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा १४ हजार ७३४ मतसहित दोस्रो भए । बाजुरामा कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मत ल्याएर निर्वाचित हुँदा एमालेका लालबहादुर थापा १६ हजार ६३३ मतसहित दोस्रो भए ।

डोटीमा कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी हुँदा एमालेका दीपकबहादुर धामी १४ हजार ११० मतसहित दोस्रो भए । इलाम १ मा कांग्रेस उम्मेदवार निश्कल राई १४ हजार ५४३ मतसहित विजयी हुँदा श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बु १३ हजार ६३२ मतसहित दोस्रो बने ।

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार प्रकाश सिंह कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा नेकपाका अशिम राई ९ हजार ४१४ मतसहित दोस्रो भए । दैलेख १ मा कांग्रेसकी बासना थापा १२ हजार ३७२ मतसहित विजयी हुँदा एमालेका रवीन्द्रराज शर्मा ११ हजार ७९६ मतसहित दोस्रो भए । तेह्रथुममा कांग्रेस उम्मेदवार सन्तोष सुब्बा ११ हजार ५६१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार भानुभक्त ढकाल १० हजार ६८२ मतसहित दोस्रोमा चित्त बुझाए । अछाम १ मा कांग्रेस उम्मेदवार भरतकुमार स्वार १० हजार ७५९ मतसहित विजयी हुँदा नेकपाका भीमबहादुर रावल १० हजार २३३ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्य १० हजार ६५६ मतसहित विजयी हुँदा रास्वपाका उम्मेदवार वसन्त भट्ट ५ हजार ५७१ मतसहित दोस्रोमा चित्त बुझाए । हुम्लामा कांग्रेस उम्मेदवार जयपति रोकाया ८ हजार ७९७ मतसहित विजयी हुँदा नेकपाका उम्मेदवार दीपेन्द्र रोकाया ७ हजार २४३ मतसहित दोस्रो भए ।

मुगुमा कांग्रेस उम्मेदवार खड्ग शाही ७ हजार ९१४ मतसहित विजयी हुँदा एमाले उम्मेदवार पूर्णबहादुर रोकाया ६ हजार ७१८ मतसहित दोस्रो भए । मुस्ताङमा कांग्रेस उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी हुँदा एमाले उम्मेदवार इन्द्रधारा डादु विष्ट १ हजार ८०६ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा नेकपा उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ४५४ मतसहित दोस्रो भइन् ।

नेकपा एमालेका प्रतिस्पर्धी

बाँके २ मा एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत प्राप्त गरी विजयी हुँदा रास्वपा उम्मेदवार विवेककुमार श्रेष्ठ १८ हजार ५८२ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङ २२ हजार ४२६ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस उम्मेदवार भेषराज आचार्य १४ हजार ६५० मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

दार्चुलामा एमाले उम्मेदवार गणेश सिंह ठगुन्ना १८ हजार ८९१ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका धर्मानन्द जोशी १५ हजार ८३६ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । बझाङमा एमाले उम्मेदवार ऐनबहादुर महर १८ हजार ५४३ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस उम्मेदवार प्रकाश रसाइली स्नेही १६ हजार ३०४ मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

धनकुटामा एमाले उम्मेदवार राजेन्द्रकुमार राई १८ हजार १३२ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस उम्मेदवार दिनेश राई १४ हजार २५७ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । संखुवासभामा एमाले उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६६६ मत प्राप्त गरी विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पा १५ हजार मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

ताप्लेजुङमा एमाले उम्मेदवार क्षितिज थेबे १३ हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बु ११ हजार ७११ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । दैलेख २ मा एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका दिक्पालकुमार शाही ९ हजार ५५२ मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

अछाममा एमाले उम्मेदवार यज्ञबहादुर बोगटी ९ हजार ५१८ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका पुष्पबहादुर शाह ९ हजार ४६ मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

नेपाली कम्युनिस्ट पार्टीका निकटतम प्रतिद्वन्द्वी

रोल्पामा नेकपा उम्मेदवार वर्षमान पुन २७ हजार ४६० मत प्राप्त गरी विजयी हुँदा कांग्रेस उम्मेदवार सुदनकुमार वली १२ हजार ८ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । सल्यानमा नेकपा उम्मेदवार रमेशकुमार मल्ल २३ हजार १८९ मत प्राप्त गरी विजयी हुँदा राप्रपाका ललितकुमार चन्द २० हजार ९०४ मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल २१ हजार ६९९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १९ हजार १४६ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । रुकुम पश्चिममा नेकपा उम्मेदवार गोपाल शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका उम्मेदवार राजु केसी १६ हजार ६६१ मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही ११ हजार ७३४ मत प्राप्त गरी विजयी हुँदा एमाले उम्मेदवार नगीन्द्र शाही १० हजार ६४७ मतसहित निकटतम प्रतिद्वन्द्वी बने । रुकुम पूर्वमा नेकपा उम्मेदवार पुष्पकमल दाहाल ’प्रचण्ड’ १० हजार २४० मत प्राप्त गरी विजयी हुँदा एमालेका लिलामणि गौतम ३ हजार ४६२ मतसहित निकटतम प्रतिद्वन्द्वी बने । यस्तै डोल्पामा नेकपाका धनबहादुर बुढा ६ हजार ८०२ मत प्राप्त गरी विजयी हुँदा एमाले उम्मेदवार लंकबहादुर रोकाया ५ हजार ३९६ मतसहित निकटतम प्रतिद्वन्द्वी बने ।

श्रम संस्कृति पार्टीका निकटतम प्रतिद्वन्द्वी

श्रम संस्कृतिका हर्कराज राई सुनसरी १ मा ३५ हजार ७४१ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत पाइन् । ध्रुवराज राई भोजपुरमा १६ हजार ६६३ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी शेरधन राई (नेकपा एमाले) ले १४ हजार ७५० मत पाए । आरेन राई खोटाङमा १६ हजार ६१२ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी देवविक्रम राई (एमाले) ले १२ हजार ७१४ मत पाएका छन् ।

राप्रपाका ज्ञानबहादुर शाही जुम्लामा १४ हजार ८१६ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत पाए । म्याग्दीमा स्वतन्त्र लडेका महावीर पुनले २२ हजार ८५० मत प्राप्त गरी विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मतमात्र पाए ।

निकटतम प्रतिस्पर्धी पनि कांग्रेस धेरै

समग्रमा नेपाली कांग्रेस ८४ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ । नेकपा एमाले ४१ र नेकपा १७ ठाउँमा निकटतम प्रतिद्वन्द्वी बनेको पाइएको छ । रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो बनेको हो । कांग्रेसले चुनाव जितेका १८ स्थानमध्ये ८ स्थानमा एमाले दोस्रो छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ६ स्थानमा दोस्रो बनेको छ । कांग्रेसले चुनाव जितेको २ स्थानमा रास्वपाले दोस्रो स्थान बनाउँदा कांग्रेसले जितेका २ स्थानमा श्रम संस्कृति पार्टी दोस्रो बनेको छ ।