फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन (फागुन २८) एमाले अध्यक्ष केपी शर्मा ओलीले नतिजा आफू र आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको भन्दै ‘हार’ स्वीकार गरेका छन् ।
साथै, उनले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने भएकाले प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी प्रतिनिधि सभाको २७५ सिटका लागि भएको निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको छ भने समानुपातिकतर्फ आधा मत घटेर जम्मा १६ सिट पाउने हैसियतमा पुगेको छ । दुवैतर्फका गरी प्रतिनिधि सभामा एमालेका २५ जना सांसदको प्रतिनिधित्व सुनिश्चित भएको छ । यसअघि अर्थात् २०७९ को निर्वाचनमा समानुपातिकतर्फ २८ लाख बढी मत (३४सिट)र प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले संसदको दोस्रो ठुलो दल बन्दै लोकप्रिय मतमा पहिलो बनेको थियो । तर, यो पटक एमालेको सांसद संख्यामात्रै घटेन संसदको पोजिसन नै बदलिएर दोस्रोबाट तेस्रोको हैसियतमा पुग्यो ।
चुनावी नतिजाले एमालेमा तरङ्ग पैदा गरेसँगै आन्तरिक समीक्षा समेत सुरु भएको छ ।
चुनावको पुरै नतिजा सार्वजनिक नहुँदै नेताहरू शंकर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल,सुरेन्द्र पाण्डे लगायतले नीति र नेतृत्वबारे गम्भीर समीक्षा गर्नुपर्ने प्रारम्भिक प्रतिक्रिया दिएका थिए । नेताहरूको यस्तो प्रतिक्रियाप्रति अध्यक्ष ओलीले भने सार्वजनिक रूपमा कुनै जवाफ दिइसकेका छैनन् । अध्यक्ष ओलीले व्यक्तिकेन्द्रीत सोच, नीति र कार्यशैली नै चुनावी हारको प्रमुख कारण रहेको विश्लेषण गरेका अधिकांश नेता कार्यकर्ताहरूले ओलीले नैतिकताका आधारमा तत्काल अध्यक्ष पदबाट राजीनामा गर्नुपर्ने आवाज बढ्दै जान थालेको छ । यस्तो आवाजलाई ओली निकटस्थ केही नेता कार्यकर्ताले भने अस्वीकार गरिरहेका छन् ।
एमाले उपमहासचिव योगेश भट्टराईले चुनावी समीक्षा गर्दै नेतृत्वको राजीनामा र पार्टी पुनर्गठनको बहस सार्वजनिक गरेपछि ओली निकटस्थहरू भट्टराईमाथि नै आक्रोश पोख्न पुगेका छन् । उपमहासचिव भट्टराईले चुनावी नतिजापछि नीति र नेतृत्व पुनर्गठनका लागि नेतृत्व तयार नभए अप्रिय निर्णय लिनुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।
सोही सन्दर्भलाई लिएर गण्डकीका स्वास्थ्य मन्त्री तथा एमाले नेता कृष्ण पाठकले उनलाई अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेन्टको आरोप नै लगाउन पुगेका छन् ।
पाठकले पार्टी करेक्सन हुनुपर्ने भए पनि भट्टराईले गरेको टिप्पणी गलत भएको बताए ।
‘एमाले करेक्सन हुनुपर्छ र हुन्छ पनि । तर योगेश जस्तो अराजक, असहिष्णु, चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेन्टको अराजक अभिव्यक्तिलाई अनुशासनको दायरामा तान्नुपर्छ,’ पाठकले सामाजिक सञ्जालमा भट्टराईको नामै किटेर भनेका छन् ।
चुनावी नतिजापछि नेता कार्यकर्ता विभाजित बन्न थालेपछि पूर्वमन्त्री तथा एमाले नेतृ विद्या भट्टराईले केवल आरोप–प्रत्यारोपमा नअल्झिएर गम्भीर आत्ममन्थन गर्न नेतृत्वलाई आग्रह गरेकी छन् । कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन र जनताको विश्वास पुनः प्राप्त गर्न आदर्श र व्यवहारलाई सँगै लैजानुको विकल्प नरहेको विद्याको भनाइ छ ।
कम्युनिस्ट पार्टीहरू आफ्नो मूल दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा निराशाजनक परिणाम भोग्नुपरेको टिप्पणी गरेकी भट्टराईले कम्युनिस्टहरू परिवर्तनको पक्षधर हुन् भन्ने मान्यता दर्शन र आदर्शवादी व्यवहारबाट निर्माण हुने भए पनि व्यवहारमा देखिन नसक्नु नै मुख्य समस्या रहेको औँल्याएकी छन् ।
‘दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहार कम्युनिस्टहरूको पहिचान थियो’, भट्टराईले भनेकी छन्, ‘रूपान्तरण, पुस्तान्तरण र नेतृत्व हस्तान्तरणलाई सान्दर्भिक बनाउने सवालमा चुकेका कारण आजको परिणाम आएको हो भन्ने स्वीकार गरौँ ।’ उनले रचनात्मक संवाद गरेर विगतका कार्यशैली र व्यवहारगत त्रुटिको बस्तुगत समीक्षा हुनसकेमात्र आगामी दिनको सार्थक यात्रा तय गर्न सकिने धारणा राखेकी छन् ।
एमाले नेता कार्यकर्ताहरूमा यस्तो बहस भए पनि अध्यक्ष ओली भने नेतृत्व छाड्न तयार नरहेको पछिल्ला दिनमा उनलाई भेट्ने नेताहरू बताउँछन् ।
‘गल्ती कमजोरीबारे विश्लेषण गरेर सुधार गर्न सकिन्छ, तर नेतृत्व छाड्नु समस्याको समाधान होइन’,गुण्डुमा अध्यक्ष ओलीसँग भेट गरेका एक नेता ओलीकै भनाई उद्धृत गर्दै भन्छन्, ‘यो संकटको घडीमा मैले अध्यक्ष छाड्ने कुरा हुनै सक्दैन ।’
त्यसो त अव बस्ने एमाले बैठकमा एमाले नेताहरूले ओलीको राजीनामा माग्ने तयारी गरेका छन् । ‘सचिवालय बैठकमै यो विषय प्रवेश हुन्छ’, एक सचिवालय सदस्य भन्छन्, ‘त्यहाँबाट सम्बोधन भएन भने केन्द्रीय कमिटी बैठकसम्म पनि पुग्न सक्छ ।’
एमाले उपमहासचिव लेखराज भट्ट पार्टीको आन्तरिक विषय पार्टी बैठकमै छलफल हुने बताउँछन् । ‘यो हाम्रो आन्तरिक विषय हो, बैठकमा हुने छलफलबारे अहिले नै बोल्नु उचित हुँदैन’, भट्टको भनाइ छ ।