मिचेट । तमु धीं यूकेले गोर्खा कप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरेको छ । अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आइतबार मिचेटस्थित आफ्नै भवनमा सम्पन्न बैठकले मेन र भेटेरानतर्फको पहिलो पुरस्कार राशिमा वृद्धि गरेको हो ।
तमु धींका अनुसार, यस वर्ष मेनतर्फका विजेताले ३ हजार ५०० पाउन्ड प्राप्त गर्नेछन् । यस्तै, भेटेरानतर्फका विजेताले १ हजार ८०० पाउन्ड पाउनेछन् । गत वर्ष मेनतर्फ ३ हजार र भेटेरानतर्फ १ हजार ५०० रुपैयाँ रहेको थियो ।
मेनतर्फ उपविजेताले २ हजार र भेटेरानतर्फका उपविजेताले १ हजार २०० पाउन्ड पाउनेछन् । यसैगरी, महिलातर्फका विजेताले ६०० र उपविजेताले ४०० पाउन्ड पाउनेछन् ।
गोर्खा कपको २४औँ संस्करण आगामी २४ मेमा अल्डरसटको क्विन्स एभिन्यु मैदानमा हुँदैछ । जसका लागि तयारी तीव्र रूपमा भइरहेको खेल कोअर्डिनेटर एवं खेलकुद सचिव क्याप्टेन दीपक घलेले बैठकमा बताएका थिए । उनले हालसम्मको प्रगतिबारे विस्तृतमा जानकारी गराएका थिए ।
गोर्खा कप यूकेमा नेपाली समुदायले आयोजना गर्ने चर्चित प्रतियोगिता हो । यस वर्षको प्रतियोगिताका लागि टिम र स्टल दर्ता धमाधम भइरहेको जनाइएको छ । टम र स्टल बुकिङ ५ अप्रिलदेखि खुला गरिएको छ ।
३२ टिम मेन १६ टिम भेटेरान र २ टिम महिलागरी ५० टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमदर्ता शुल्क मेन र भेटेरानतर्फ ३५० पाउन्ड र महिलाका लागि ३०० पाउन्ड तोकिएको छ ।